डेढ वर्षमै बागमतीमा २१ जना मन्त्री
नेकपा (एकीकृत समाजवादी)लाई मन्त्रालय तोक्न नसके गठबन्धन नै टुट्ने सम्भावना बढेपछि बागमती प्रदेश सरकारले फेरि मन्त्रालय फुटाएको छ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकूद विकास मन्त्रालय बनाएको हो। सामाजिक विकास मन्त्रालय नेकपा (माओवादी केन्द्र)की कुमारी मोक्तानले सम्हाल्दै आएकी थिइन्। नयाँ थपिएको खेलकूद मन्त्रालयको जिम्मेवारी गत चैत १९ गते नियुक्त एकीकृत समाजवादीकी विना विभागीय मन्त्री रमा आले मगरलाई दिने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनकै लागि मगरलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए। तर डेढ महीनासम्म पनि मगरको मन्त्रालय तोकिएन। यसले सरकार नै ढल्ने अवस्था आएपछि खेलकूद मन्त्रालय थपिएको हो।
यसअघि मन्त्रालय धेरै भएको भनेर आलोचना भएपछि कार्यदल बनाएरै मन्त्रालय संख्या १२ मा झारिएको थियो तर बुधबारको निर्णयसँगै बागमतीमा १३ सदस्यीय मन्त्रिमण्डल बनेको छ।
यो सहित जम्कट्टेलले चालू डेढ वर्षको कार्यकालमा दोस्रो पटक मन्त्रालय फुटाएका हुन्। यसअघि नेपाली कांग्रेस, एकीकृत समाजवादी सहितको गठबन्धन सरकारको नेतृत्व गर्दा कांग्रेसका रामकृष्ण चित्रकारलाई जिम्मेवारी दिन जम्कट्टेलले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाएर उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बनाएका थिए।
२०७९ पुस २५ गते बागमतीको मुख्यमन्त्री नियुक्त जम्कट्टेलले यस कार्यकालमै २१ जनालाई मन्त्री पनि बनाइसके। शुरूमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका उनले पछि कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा सरकार बनाएका थिए।
गत फागुन २३ गते कांग्रेसले समर्थन फिर्ता लिएपछि उनले पुनः एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई सरकारमा भित्र्याएका थिए।
बागमती प्रदेश सरकार स्थापनाको साढे ६ वर्षमा मन्त्रालय फुटाइएको यो चौथो पटक हो। पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले सरकार चलाउन्जेल साढे तीन वर्ष सात वटा मन्त्रालय मात्रै रहे पनि तत्कालीन नेकपा विभाजनपछि भने बागमतीमा मन्त्रालय फुटाउने सिलसिला चलिरहेको छ।