विश्वकप छनोटका लागि नेपाली फूटबल टोलीको घोषणा
![विश्वकप छनोटका लागि नेपाली फूटबल टोलीको घोषणा](https://www.himalkhabar.com/uploads/posts/800X600/ANFA_Selection-1715681731.jpg)
विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत यूएई विरुद्ध हुने खेलका लागि आज २८ सदस्यीय नेपाली फूटबल टोलीको घोषणा भएको छ।
नेपाली राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले प्रारम्भिक चरणमा २८ सदस्यीय खेलाडीको घोषणा गरेका हुन्। छनोट हुने खेलाडीमा गोलरक्षकमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र सन्तोष महत रहेका छन्। त्यसैगरी, रक्षापंक्तिमा अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ रहेका छन्।
मध्यपंक्तिमा भरत खवास, लकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, वसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र सुमित श्रेष्ठ छन् भने अग्रपंक्तिमा अञ्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समीर तामाङ र सञ्जीव विष्ट छन्।
नेपाल र यूएईबीचको खेल यही जेठ २४ गते दशरथ रंगशालामा हुने तय भएको थियो। तर रंगशालाको मापदण्ड नपुगेको भन्दै एएफसी (एशियन फूटबल महासंघ)ले खेल ‘न्यूट्रल भेन्यू’ मा गर्न निर्देशन दिएको छ।