नेपाल र यमनबीचको खेल बराबरी
फिफा विश्वकप २०२६ को एशियाली छनोट अन्तर्गत दोस्रो चरणको नेपाल र यमनबीचको खेल बराबरीमा टुंगिएको छ।
साउदी अरबको दमामस्थित प्रिन्स मोहमद बिन फहद रंगशालामा भएको दोस्रो चरणको अन्तिम खेलमा नेपाल र यमन दुवै टोलीले समान दुई गोल गरे।
नेपालका लागि सञ्जीव विष्ट र जिलेस्पीजंग कार्कीले एक/एक गोल गरे। विष्टले २२ र कार्कीले ६६औं मिनेटमा गोल गरेका हुन्।
यमनका लागि नासेर अल गहवासीले खेलको नवौं मिनेटमा गोल गरेका थिए। डिबक्सभित्र मनीष डाँगीले यमनका खेलाडी रमी अल-वासमानीलाई फउल गरेपछि पाएको पेनाल्टी सदुपयोग गर्दै गहवासीले गोल गरेका थिए।
खेलमा एक समय नेपालले २-१ को अग्रता बनाए पनि दोस्रो हाफको अतिरिक्त समयमा यमनका मोहम्मद अब्दुल्लाह अल-दाहीले गोल गरेपछि खेल २-२ गोलको बराबरीमा सकिएको हो।
नेपालले ६ खेलमा पाँच हार र एक बराबरी खेल्दै केवल दुई गोल गरेर विश्वकप छनोटको दोस्रो चरण टुंग्याएको छ। प्रतियोगिताको समूह ‘एच’ मा रहेको नेपालले केवल एक अंक जोडेको छ।