लगानी सम्मेलनमा को को आउँदै छन्?
देशकाे राजधानी काठमाडौंमा वैशाख १६ गतेदेखि तेस्रो लगानी सम्मेलन शुरू हुँदै छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सम्मेलनमा सहभागिताका लागि नेपालले संसारभरिका धनाढ्य तथा ठूला व्यावसायिक संस्थालाई निमन्त्रणापत्र पठाएको थियो। तर सम्मेलनमा चर्चामा रहने धनाढ्य एवं ठूला बहुराष्ट्रिय कम्पनीका उच्च तहका प्रतिनिधिको सीमित मात्रै सहभागिता हुने देखिएको छ। बरु छिमेकी मुलुकका प्रतिनिधि, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि भने सहभागी हुँदै छन्।
लगानी बोर्डले शनिबार सार्वजनिक गरेको विवरण अनुसार सम्मेलनको उद्घाटन सत्रमा चाइना इन्टरन्याशनल डेभलपमेन्ट कोअपरेशन एजेन्सीका अध्यक्ष लू चाउहुईले मन्तव्य राख्नेछन्। उनले शनिबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्दै टोखा-छहरे प्रस्तावित सुरुङमार्गमा लगानीका विषयमा छलफल गरेका थिए। चाइना इन्टरन्याशनल डेभलपमेन्ट कोअपरेशन चीन सरकार अन्तर्गतको विकास साझेदार संस्था हो।
लगानी सम्मेलनको उद्घाटन सत्रमा भारतका उद्योग तथा वाणिज्यमन्त्री पीयूष गोयलले पनि मन्तव्य राख्नेछन्। त्यसैगरी, सम्मेलनमा बेलायत सरकारमा इन्डो-प्यासिफिक हेर्ने राज्यमन्त्री एन-म्यारी ट्रेवेलयान, बेलायतकै अर्का राज्यमन्त्री एन्ड्र्यू मिचल, अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु पनि सहभागी भएर विचार राख्नेछन्।
सम्मेलनमा संयुक्त राष्ट्रसंघको व्यापार र विकास सम्मेलन (अनट्याग)का महासचिव म्याडम रेवेका ग्रिनस्पान, विश्व ब्यांक समूहको दक्षिणएशिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइसर, एशियाली विकास ब्यांकका उपाध्यक्ष यिनमिङ याङ, एशियाली पूर्वाधार विकास ब्यांकका कार्यवाहक उपाध्यक्ष रजत मिश्र पनि सहभागी हुने बोर्डले जनाएको छ। त्यस्तै, नेपालस्थित विदेशी राजदूत, कूटनीतिक निकायका प्रतिनिधि, सार्क चेम्बर अफ कमर्शका अध्यक्ष जस्मिन उदिन लगायतको पनि सहभागिता रहनेछ।
सरकारले सम्मेलनमा सहभागिताका लागि अर्बपतिहरू सामाजिक सञ्जाल एक्सका प्रमुख लगानीकर्ता एलन मस्क, फेसबूकका संस्थापक मार्क जुकरबर्गदेखि अमेजनका संस्थापक जेफ बेजोस र माइक्रोसफ्टका संस्थापक बिल गेट्ससम्मलाई निमन्त्रणा पठाएको थियो। त्यसैगरी, चीनको प्रख्यात व्यावसायिक समूह अलिबाबाका संस्थापक ज्याक मा, भारतका अर्बपति गौतम अडानी र मुकेश अम्बानीलाई पनि निम्त्याइएको थियो। तर उनीहरूले नेपाल सरकारको निमन्त्रणालाई स्वीकार गरेनन्।
लगानी बोर्डले सम्मेलनमा झन्डै पाँच दर्जन देशका प्रतिनिधिले सहभागिता जनाउने जनाएको छ। सम्मेलनमा चीन, भारत, अमेरिका, जापान, जर्मनी, बेलायत, बाङ्लादेश, संयुक्त अरब इमिरेट्स सहितका देशका प्रतिनिधि र लगानीकर्ता सहभागी हुने भएका छन्।
सम्मेलनका लागि बोर्डले विभिन्न परियोजनाको सूची तयार गरेको छ। बोर्डले तत्काल लगानी गरी कार्यान्वयनमा जान सक्ने २० वटा परियोजनाका लागि लगानीकर्ताबाट आशयपत्र आह्वान गर्ने तयारी गरेको छ। त्यसैगरी, थप १५० लगानीयोग्य परियोजनाको सूची तयार पारिएको छ।