अब सुन्तला राष्ट्रिय फल
सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई नेपालको राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिंदै मन्त्री शर्माले भनिन्, “कृषि मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलका रूपमा मान्यता दिने निर्णय भएको छ।”
सुन्तला (मन्डारिन ओरेन्ज) नेपालको रैथाने फल हो। देशका ५६ जिल्लामा सुन्तला खेती हुने गरेको राष्ट्रिय फलफूल विकास केन्द्रको तथ्यांक छ।
नेपालमा १९ हजार ४८१ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ। आर्थिक वर्ष २०७८/७९ मा एक लाख ८५ हजार ३४६ मेट्रिक टन सुन्तला फलेको थियो।
सबैभन्दा धेरै स्याङ्जामा १३ हजार ८०० मेट्रिक टन सुन्तला फलेको थियो। यस वर्ष सल्यानमा १० हजार ९५० मेट्रिक टन, काभ्रेमा नौ हजार ३४५ मेट्रिक टन र दैलेखमा नौ हजार ३६१ मेट्रिक टन सुन्तला फलेको थियो।
नेपालको कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा सुन्तलाको हिस्सा ०.९६ प्रतिशत छ। यो आँपको भन्दा केही थोरै र प्याजको भन्दा धेरै हो।