इलाममा पढाइँदै चिया प्रविधि
इलाममा चिया प्रविधि सम्बन्धी पढाइ शुरू भएको छ।
रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयमा औद्योगिक प्रशिक्षार्थी (एपेरेन्टिस मोडेल) खाकामा चिया प्रविधि सम्बन्धी पढाइ शुरू भएको हो। दुईवर्षे प्रि-डिप्लोमा चिया प्राविधिक कोर्समा विद्यार्थीले उन्नत चिया उत्पादनका लागि आवश्यक बीउ छनोटदेखि बिरुवाको हेरचाह, चिया प्रशोधन, उत्पादन तथा बजारीकरणसम्मको ज्ञान हासिल गर्नेछन्।
औद्योगिक प्रशिक्षार्थी खाका अनुसार शुरूको साढे तीन महीना शिक्षालयमा पढेपछि १९ महीना चिया उद्योगमा प्रयोगात्मक गराइनेछ। ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत सैद्धान्तिक पढाइ हुने यो कोर्समा एक पटकमा ४० जना विद्यार्थी सहभागी हुनेछन्। “पहिलो ब्याचमा २४ छात्रा र १६ छात्र अध्ययनरत छन्,” इलाम नगरपालिकाको साँखेजुङमा रहेको शिक्षालय प्रमुख दीपक खनालले हिमालखबरसँग भने।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) र इन्स्योर परियोजनाको समन्वयमा शुरू भएको यो कोर्स पढ्न विद्यार्थीले शुल्क तिर्नु पर्दैन। बरु उल्टै दिनको १०० रुपैयाँ प्रोत्साहन भत्ता पाउनेछन्।
विद्यार्थीलाई प्रयोगात्मक गराउन १५ वटा चिया कारखानासँग सम्झौता भइसकेको शिक्षालय प्रमुख खनालले बताए। “उद्योगको क्षमता अनुसार एउटा उद्योगमा दुई-तीन जना विद्यार्थी पठाउने प्रबन्ध मिलाइएको छ,” खनालले भने।
चिया प्राविधिकको जनशक्ति तयार पार्न पढाइ शुरू गरिएको उनको भनाइ छ। यसअघि मेची क्याम्पसमा ‘टी साइन्स’ विषयको पढाइ हुने गरेको थियो। त्यो विषय ‘फेजआउट’ भएपछि चिया प्राविधिकलाई चाहिने पढाइ बन्द जस्तै रहेको खनालको भनाइ छ। चिया प्राविधिक दुई वर्षे प्रि-डिप्लोमा कोर्सको पाठ्यक्रम इलाममै तयार गरिएको हो।
पाठ्यक्रम निर्माण र पढाइ गराउन सीटीईभीटीलाई हेल्भेटासको इन्सोयर परियोजनाले सहयोग रहेको छ। देशका चिया प्रशोधन केन्द्रमा चाहिने प्राविधिकको मागलाई परिपूर्ति गरी रोजगारीको अवसर प्रदान गर्ने गरी कोर्स तयार गरिएको सीटीईभीटीका पाठ्क्रम अधिकृत हरि पौडेलले बताए।
एसईईमा भाग लिएका विद्यार्थीले पढ्न पाउने यो कोर्स चियाको केन्द्र इलामबाट शुरू गरिए पनि बिस्तारै अन्य क्षेत्रमा पनि सञ्चालन गर्ने योजना रहेको पौडेलले बताए। विद्यार्थीले उन्नत चिया उत्पादन र बजारीकरण मात्रै नभई चियाको राष्ट्रिय र स्थानीय नीतिबारे समेत जान्ने भएकाले पढाइ सक्दा आफैं उद्यमी पनि बन्न सकून् भन्ने उद्देश्य राखिएको उनको भनाइ छ।
सीटीईभीटी अन्तर्गतको शिक्षालय मेची राजमार्गसँगैको साँखेजुङको रुम्दाली डाँडामा १५८ रोपनी क्षेत्रफलमा फैलिएको छ। ४० करोडको लागतमा निर्माणसम्पन्न पोलिटेक्निक इन्स्टिच्यूटमा तीनवर्षे आईएसीएजी पशु विज्ञान, कृषि र वन, खाद्य तथा डेरी विषयको पढाइ हुन्छ।
१९२० सालमा इलामबाट शुरू भएको चियाखेती अहिले देशका ३० जिल्लामा पुगेको छ। अहिले देशभर २० हजार २३७ हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदै आएको छ। सबै प्रकार गरी वार्षिक दुई करोड ६३ लाख ७९ हजार ४९३ किलोग्राम चिया उत्पादन हुने गरेको नेपाल चिया तथा कफी विकास बोर्डको अनुमान छ।
नेपाली चिया विदेशी मुद्रा आर्जनको माध्यम पनि बन्न थालेको छ। भन्सार विभागको तथ्यांक अनुसार नेपालले गत आर्थिक वर्षमा एक करोड ६५ लाख किलोग्राम सीटीसी र अर्थोडक्स चिया निर्यात बापत करीब चार अर्ब रुपैयाँ आम्दानी गरेको थियो। नेपालमा उत्पादित सीटीसी र अर्थोडक्स चियाको ठूलो बजार भारत हो।