काठमाडौंमा दुई वर्षअघिको तुलनामा आधा घट्यो घरजग्गा किनबेच
दुई वर्षअघिको तुलनामा काठमाडौंमा घरजग्गा कारोबार आधाले घटेको छ भने फागुनमा देशभरको कारोबार स्थिर देखिएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुन महीनामा देशभरि ५० हजार ९९८ वटा घरजग्गा सम्बन्धी काराेबार भयाे। माघमा देशभरिका मालपोत कार्यालयबाट ५० हजार ९२१ वटा घरजग्गा किनबेच भएका थिए।
घरजग्गा कारोबार सुस्त भएका कारण अर्थतन्त्र नै शिथिल भएको व्यवसायीले बताउँदै आएका छन्। सरकारले पछिल्ला समयमा घरजग्गा कारोबारलाई बढाउन विभिन्न नीतिगत पहलकदमी अघि सार्दै आएको छ। गत वर्षको यही अवधिको तुलनामा यस वर्ष घरजग्गा किनबेचमा सामान्य सुधार देखिए पनि उत्साहजनक रूपमा कारोबार फस्टाएको छैन।
अहिले हरेक महीना ५० हजार हाराहारीमा घरजग्गा किनबेच हुन थालेको देखिन्छ। तर घरजग्गाको व्यवसाय फस्टाएका वेला मासिक ७० हजारभन्दा माथि घरजग्गा कारोबार हुने गरेको तथ्यांकले देखाउँछ।
यद्यपि फागुन महीनामा भएको घरजग्गाको कारोबार चालू आर्थिक वर्षकै सर्वाधिक उच्च हो। गत साउनयता माघ र फागुन महीनामा मात्रै घरजग्गा कारोबार ५० हजार नाघेको छ। गत कात्तिकमा सर्वाधिक थोरै २६ हजार वटा मात्रै घरजग्गाको काराेबार भएको थियो।
फागुनमा विगतको तुलनामा घरजग्गा कारोबार बढेको भए पनि मुख्य बजार काठमाडौंमा कारोबार शिथिल नै छ। फागुनमा काठमाडौंका १० मालपोत कार्यालयबाट चार हजार २०३ वटा घरजग्गा किनबेच भए। दुई वर्षअघि घरजग्गा कारोबार तीव्र भएको वेला २०७८ फागुनमा काठमाडौं उपत्यकाका मालपोत कार्यालयबाट आठ हजार ८४९ वटा घरजग्गा किनबेच भएका थिए। यसले दुई वर्षअघिको तुलनामा काठमाडौं उपत्यकामा घरजग्गा कारोबार आधाले घटेको देखाउँछ।
व्यवसायीका अनुसार अहिले देखिएको कारोबारले घरजग्गा बजारको यथार्थ चित्र देखाउँदैन। पछिल्लो समयमा ब्यांक तथा वित्तीय संस्थाले घरजग्गा लिलाम गर्ने क्रम बढाएका छन्। लिलामीमा चढाइएका र बिक्री नभएका सम्पत्ति गैरब्यांकिङ सम्पत्तिका रूपमा ब्यांकले सकार्दा त्यसलाई पनि मालपोत कार्यालय मार्फत पारित गराउनुपर्छ। जसले गर्दा त्यस्तो सम्पत्ति पनि कारोबारका रूपमा देखिंदै आएको छ।
फागुनमा सबैभन्दा धेरै कारोबार सुनसरीको इनरुवास्थित मालपोत कार्यालयबाट भएको छ। इनरुवाबाट फागुनमा दुई हजार ६ वटा घरजग्गा किनबेच भए। त्यस्तै, मालपोत कार्यालय, जनकपुरबाट एक हजार ९९७ वटा, झापाको भद्रपुरबाट एक हजार ८५०, मोरङको बेलबारीबाट एक हजार ६४३ वटा घरजग्गा कारोबार भए।