साम्बा विना उपाधिका लागि जोर्डनसँग भिड्दै नेपाल
वाफ महिला च्याम्पियनशिपको उपाधिका लागि आज नेपाल जोर्डनसँग प्रतिस्पर्धा गर्दै छ।
साउदी अरबको प्रिन्स अब्दुल्लाह अल फैजल रंगशालामा आज राति ९ः४५ बजे नेपाल र जोर्डनको खेल हुनेछ। फाइनल खेलमा नेपाली फरवार्ड सावित्रा भण्डारी (साम्बा) भने खेल्नेछैनन्।
साम्बा फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित छिन्। क्लबसँगको सम्झौता अनुसार साम्बालाई फीफा विन्डोको खेल खेल्न मात्र अनुमति छ। त्यसैले उनी गएराति नै साउदी अरबबाट फ्रान्स प्रस्थान गरेकी छन्।
वाफ च्याम्पियनशिपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी उनै हुन्। उनले चार खेलमा नौ गोल गरेकी छन्।
साम्बाको अनुपस्थितिमा पनि नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने अखिल नेपाल फूटबल संघ (एन्फा)को विश्वास छ। नेपाली टोली उपाधिका लागि मैदानमा उत्रिनेछ।
सेमिफाइनलमा लेबनानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। लेबनान विरुद्ध साम्बा र प्रीति राईले गोल गरेकी थिइन्।
नेपालले समूह चरणमा पनि सबै खेल जितेको थियो। समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।
वाफ च्याम्पियनशिपमा नेपाल पहिलो पटक सहभागी भएको हो। पहिलो सहभागितामै नेपाल उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ।