आलु र गोलभेंडाको रोग पत्ता लगाउन मोबाइल एप
![आलु र गोलभेंडाको रोग पत्ता लगाउन मोबाइल एप](https://www.himalkhabar.com/uploads/posts/800X600/FAO-Mobile-app-1708755905.jpg)
आलु र गोलभेंडामा लागेको रोग पत्ता लगाउने र निदानबारे जानकारी दिने मोबाइल एप तयार भएको छ।
आलु र गोलभेंडामा कस्तो रोग लागेको छ? त्यसको निदान के हुन सक्छ? यस्तै समस्याबारे जानकारी दिने मोबाइल एप सञ्चालनमा आएको छ।
‘टेलिप्लान्ट डाक्टर’ नामको एप संयुक्त राष्ट्रसंघको कृषि र खाद्य संगठन (एफएओ)ले डिजिटल भिलेज इनिसिएटिभ अन्तर्गत निर्माण गरेको हो। एपमा हाल आलु र गोलभेंडामा लाग्ने १० वटा रोगबारे जानकारी राखिएको छ। बिस्तारै अन्य रोगबारे तथा आवश्यक जानकारी पनि थपिने जनाइएको छ।
मोबाइलको एन्ड्रोइड भर्सनमा चल्ने यो एपमा ४० हजारभन्दा बढी बालीका तस्वीर प्रविष्टि गरिएको छ। किसानले आफ्नो बालीको तस्वीर एपमा प्रविष्टि गरेपछि रोगको अवस्था के छ र निदान के हुन सक्छ भन्ने जानकारी मोबाइलमा आउनेछ।
यो एपले पोट्याटो इयर्ली ब्लाइट र पोट्याटो लेट ब्लाइट रोगबाट जानकारी दिनेछ। त्यस्तै, टोमाटो ब्याक्टेरियल स्पट, टोमाटो इयर्ली ब्लाइट, टोमाटो लेट ब्लाइट, टोमाटो लिफ मल्ड, टोमाटो मोसेक भाइरस, टोमाटो सेप्टोरिया लिफ स्पट, टोमाटो स्पाइडर मिट्स र टोमाटो एलो लिफ क्युर भाइरसको जानकारी दिनेछ।
![FAO Mobile app 2.jpg](https://www.himalkhabar.com/uploads/editor/Agriculture/FAO Mobile app 2.jpg)
अंग्रेजी भाषामा निर्मित एपलाई नेपाली भाषामा पनि बनाउने र अझै परिष्कृत गर्ने तयारी रहेको संयुक्त राष्ट्रसंघको कृषि र खाद्य संगठन (एफएओ)का कार्यक्रम विज्ञ अरुण जीसीले हिमालखबरलाई बताए। एपको विस्तृत निर्माणपछि नेपाल सरकारलाई हस्तान्तरण गरिने पनि जीसीको भनाइ छ।
“यो एप जति बढी प्रयोग भयो उति परिमार्जन र अद्यावधिक हुने प्रणाली मिलाइएको छ,” उनले भने, “प्राविधिकको अभावका कारण बालीमा लाग्ने रोगको परीक्षण तथा निदान समयमा गर्न नसकेका किसानलाई एपले सहयोग गर्नेछ।”
एपमा बालीको रोगको निदानका उपाय पनि सिफारिश गरिन्छ। एपमा पहिचान भएका रोगको अभिलेख पनि रहने हुँदा यसले भोलिका दिनमा यस्तो रोग लाग्न सक्छ भन्ने जनाउ पनि दिने जनाइएको छ। एपको नेपाली संस्करण बनेपछि स्थानीय किसानलाई उपयोगी हुने विज्ञ जीसीले बताए।
एउटा अध्ययन अनुसार बालीमा विभिन्न रोग लाग्दा तथा कीराको प्रकोपले उत्पादनमा ४० प्रतिशत क्षति पुग्ने गरेको देखिएको छ। एपले जीआईएस, रिमोट सेन्सर र जलवायु डेटा प्रयोग गरेर स्थानीय रूपमा जीवाणु र रोगको निदानको सिफारिश गर्नेछ।