वाफ च्याम्पियनशिपमा आज प्यालेस्टाइनसँगै भिड्दै नेपाल
वाफ महिला च्याम्पियनशिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दै छ।
साउदी अरबमा जारी प्रतियोगितामा आज राति १०:४५ बजे समूह ‘बी’ का नेपाल र प्यालेस्टाइनबीच खेल हुनेछ। सेमिफाइनलमा पुगेका दुवै टोलीले समूहको शीर्षस्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।
यसअघि समूह चरणमा भएका दुवै खेल नेपालले जितेको छ। पहिलो खेलमा सिरियालाई ४-१ गोलअन्तरले पराजित गरेको थियो।
त्यस्तै, दोस्रो खेलमा इराकलाई ५-० गोलअन्तरले पराजित गरेको थियो। नेपालका लागि पाँचै गोल सावित्रा भण्डारी ‘साम्बा’ ले गरेकी थिइन्।
प्यालेस्टाइनले पनि समूह चरणका दुवै खेल जितेको छ। पहिलो खेलमा इराकलाई ३-० र दोस्रो खेलमा सिरियालाई १-० गोलअन्तरले पराजित गरेको थियो।
नेपाल र प्यालेस्टाइन ६-६ अंक सहित समूहको पहिलो र दोस्रो स्थानमा छन्। सिरिया र इराक दुई-दुई खेल हारेसँगै समूह चरणबाट बाहिरिसकेका छन्।
त्यस्तै, समूह ‘ए’ बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगिसकेका छन्।