सुर्खेतमा रैथाने बाली प्रशोधन केन्द्र स्थापना गरिने
कर्णालीमा उत्पादित रैथाने बाली संकलन, प्रशोधन र बजारीकरणका लागि प्रशोधन केन्द्र स्थापना गरिने भएको छ।
दुई करोड ७८ लाख रुपैयाँ प्रारम्भिक लागत अनुमान गरिएको प्रशोधन केन्द्र स्थापना गर्ने सम्बन्धमा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुर्खेत प्रादेशिक कार्यालयसँग सम्झौता गरेको छ। “एक वर्षमा तयार हुने प्रशोधन केन्द्र मन्त्रालयले तयार पारेर कम्पनीलाई दिनेछ र केन्द्र मार्फत रैथाने जातको प्रवर्द्धनको काम अघि बढ्नेछ,” मन्त्रालयका सचिव नरहरिप्रसाद घिमिरेले भने।
केन्द्र स्थापना भएपछि कम्पनीले स्थानीय कृषकसँग रैथाने जातका सिमी, फापर, कोदो लगायत बाली किनेर तिनलाई केलाएर, प्याकिङ र लेबलिङ गरेर बजारीकरण गर्नेछ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेत शाखाले पनि चालू आर्थिक वर्षमा कर्णालीमा उत्पादन हुने १९ हजार ४६४ मेट्रिक टन रैथाने बाली खरीद गर्ने लक्ष्य राखेको छ।
कम्पनीले कर्णालीका रैथाने उत्पादनको ४० प्रतिशत आफैंले खरीद गर्ने कार्ययोजना बनाएको छ। “प्रशोधन केन्द्र स्थापना भएपछि कर्णालीका रैथाने दाल, गेडागुडी खरीद गरेर प्रशोधन गरेर बजारीकरण सहज हुनेछ,” घिमिरेले भने।
केन्द्र स्थापना भएपछि कर्णालीका किसानले उत्पादन गरेका रैथाने उपजको बजारीकरणको सुनिश्चितता हुनेछ। यसले किसानको आर्थिक स्तर उकास्न ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ।
सम्झौतामा मन्त्रालयले मातहतका कार्यालयलाई वार्षिक कार्यक्रम मार्फत कृषकलाई रैथाने बाली उत्पादन तथा प्रवर्द्धनका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने, प्रदेशस्तरीय रैथाने बालीको प्रशोधन, लेबलिङ र प्याकेजिङका मशिनरी उपकरण व्यवस्था गर्न बजेटको प्रबन्ध मिलाउने, यसको उत्पादन परिमाण तथा कृषकको तथ्यांक उपलब्ध गराउने उल्लेख छ।