नेपालमा तीनमध्ये एक जनासँग जग्गाको स्वामित्व छैन
नेपालमा तीनमध्ये कम्तीमा एक जनासँग जग्गाको स्वामित्व नभएको तथ्यांकले देखाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण प्रतिवेदनले नेपालमा कुल जनसंख्याको ३४.५६ प्रतिशतसँग जग्गाको स्वामित्व नरहेको देखाएको हो। नेपालमा भूमिको स्वामित्व लामो समयदेखिको प्रमुख राजनीतिक मुद्दा हो। भूमिहीनलाई जग्गा वितरणको विषयमा विवाद हुँदै आएको छ।
जीवनस्तर सर्वेक्षणले देशभरि गरेको अध्ययनले भूमिहीन परिवारको संख्या उल्लेख्य रहेको देखाएको छ। हरेक परिवारको एक जना सदस्यको स्वामित्वमा जग्गा भएमा उक्त परिवारका सबै सदस्यको जग्गाको स्वामित्व भएको मानिने भएकाले भूमिहीनको संख्याले घरपरिवारको भूमिको स्वामित्वको स्थितिलाई बुझाउने राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीले बताए। यसमा भूमिहीन, अरूको नामको जग्गा कमाउने, बिर्ता, मोहीको जग्गा कमाउने सहितको तथ्यांक समावेश छ।
यसको अर्थ नेपालमा हरेक तीनमध्ये एक परिवारको स्वामित्वमा जग्गा छैन।
१२ वर्षअघिको तुलनामा अहिले जग्गा नहुने परिवारको संख्या बढेको देखाएको छ। २०६६/६७ सालमा गरिएको जीवनस्तर सर्वेक्षणले कुल जनसंख्याको २१ प्रतिशतसँग जग्गा नभएको देखाएको थियो। त्यसभन्दा अघि २०६०/६१ सालको जीवनस्तर सर्वेक्षणले सात प्रतिशत परिवारको स्वामित्वमा जग्गा नभएको देखाएको थियो।
परिवारहरू छुट्टिंदै गएको तथा शहरी क्षेत्रमा जनसंख्या बढेका कारण जग्गामा स्वामित्व नभएका परिवार बढेको हुन सक्ने अनुमान गरिएको छ। ताजा सर्वेक्षणले कुल जनसंख्याको शहरी क्षेत्रमा बस्नेमध्ये ४२.४२ प्रतिशतको र ग्रामीण क्षेत्रका १६.६२ प्रतिशतको जग्गामा स्वामित्व नभएको देखाएको छ। यद्यपि यो घरपरिवारले दिएको जवाफमा आधारित सर्वेक्षण हो।
सर्वेक्षणले घरपरिवारको गरीबी जग्गाको स्वामित्वसँग सीधै अन्तर्सम्बन्धित भएको देखाउँछ। घरपरिवारको स्वामित्वमा भएको जग्गाको क्षेत्रफल बढ्दै जाँदा गरीबीको दर पनि घटदै गएको देखिएको छ। उदाहरणका लागि ०.२ हेक्टर (करीब चार रोपनी) भन्दा कम जग्गा भएका परिवारको गरीबीको दर २३.३२ प्रतिशत छ।
तर एक हेक्टरदेखि दुई हेक्टरसम्म जग्गा भएका परिवारको गरीबीको दर १६.१४ प्रतिशत मात्रै छ। दुई हेक्टर (३९ रोपनी) भन्दा माथि जग्गा हुने परिवारको गरीबीको दर ११.३८ प्रतिशत मात्रै छ।
नेपालको अर्थ-सामाजिक हैसियत निर्धारणमा जग्गा प्रमुख विषय बन्दै आएको छ।