मधेशमा ४३ प्रतिशत किसान परिवारलाई पुग्दैन आफ्नै उत्पादन
![मधेशमा ४३ प्रतिशत किसान परिवारलाई पुग्दैन आफ्नै उत्पादन](https://www.himalkhabar.com/uploads/posts/800X600/madhes_1662301212.jpg)
अन्नभण्डारका रूपमा रहेको मधेश प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत किसान परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ।
राष्ट्रिय कृषि गणना-२०७८ अनुसार, मधेशमा सात लाख ३८ हजार ३४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको हो। नेपालको कुल जनसङ्ख्यामध्ये ६१ लाख १४ हजार ६०० जनसङ्ख्या अर्थात् ११ लाख ५६ हजार ७१५ परिवार बसोबास गर्ने मधेश प्रदेशमा सात लाख ३८ हजार ३४० अर्थात् ६३.८ प्रतिशत परिवार कृषक रहेको तथ्याङ्क छ।
प्रदेशका आठ जिल्लामा छरिएर रहेका कृषक परिवारले चार लाख ९२ हजार ४९७ हेक्टरमा कृषिकार्य गर्ने गरेकामा ५७ प्रतिशतलाई मात्रै आफ्नै कृषि उत्पादनले वर्षैभरि खान पुग्ने गरेको कृषि गणना २०७८ मा उल्लेख गरिएको छ।
तथ्याङ्कले अधिकांश कृषक परिवारले जीवन निर्वाहका लागि मात्रै कृषि कर्म गर्ने गरेको देखाएको छ। जस अनुसार कृषि उत्पादनको हिस्सामध्ये १.८ प्रतिशत मात्रै बिक्री गर्ने गरिएको र त्यस बाहेक ६२.२ प्रतिशत सबै घरायसी, ३० प्रतिशत मुख्य घरायसी र केही बिक्री तथा ५.६ प्रतिशत मुख्य बिक्री र केही घरायसी प्रयोग गर्ने गरिएको छ। मधेश प्रदेशमा अहिले पनि आम्दानीको मुख्य स्रोत कृषिकार्य हो भनी बताउने कृषकको प्रतिशत ६४.३ छ।
कृषक परिवार अन्तर्गत मधेशमा जम्मा कित्ता सङ्ख्या २१ लाख ७४ हजार ७९८ र प्रतिकृषक परिवार कित्ता सङ्ख्या २.९ देखाएको छ। सबैभन्दा बढी तीन लाख ८४ हजार ५५३ हेक्टरमा धानबाली, दुई लाख ४७ हजार ६०९ हेक्टरमा गहुँ र ३३ हजार ७१९ हेक्टरमा मकै रहेको छ। एक बाली सकिनासाथ अर्को बाली लगाउने अर्थात् बाली सघनता १.८७ छ। त्यस्तै, स्थायी बालीका रूपमा रहेका आँप १५ हजार ४३३ हेक्टर, केरा एक हजार १८३ र कागती १३७ हेक्टरमा खेती हुने गरेको छ।
कृषि गणनाको विवरण अनुसार कृषि कार्यका लागि उपकरण प्रयोग गर्ने किसानको सङ्ख्यामध्ये ट्र्याक्टर ६४.७ प्रतिशत, फलामे हलो २०.८ प्रतिशत र पावरट्रिलर ४.७ प्रतिशत छ। त्यस्तै, प्रदेशमा १६.२ प्रतिशत कृषक परिवारले कृषि प्रयोजनका लागि ऋण लिएका, १.२ प्रतिशतले मात्रै कृषि बीमा गरेका र ३.७ प्रतिशतले सरकारी अनुदान पाएका छन्।
मुख्य कृषकमा ८५.८ प्रतिशत पुरुष र १४.२ प्रतिशत महिला रहेको छन्। कृषक परिवारमध्ये ३०.१ प्रतिशतले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गर्ने गरेका छन्।
त्यस्तै, मधेशमा गाईगोरुको सङ्ख्या करीब तीन लाख ८० हजार, राँगाभैँसीको सङ्ख्या पाँच लाख २९ हजार, बाख्रा, खसी, बोका, च्याङ्ग्राको सङ्ख्या १४ लाख ४८ हजार तथा कुखुराको सङ्ख्या २४ लाख ६१ हजार रहेको पनि तथ्याङ्कले देखाएको छ।
कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार भन्ने नारासहित गरिएको राष्ट्रिय कृषि गणना २०७८ को नतीजाले अन्नभण्डारका रूपमा रहेको मधेश प्रदेशकै अवस्था चिन्ताजनक देखाएको छ। प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले सिंचाइ पूर्वाधार, समयमा मल नपाइनु, अनुदानको न्यायोचित वितरण नहुनु लगायत कारणले वास्तविक कृषकलाई जीवननिर्वाह गर्न समेत समस्या भइरहेको बताउँछन्।
मन्त्री न्यौपानेले मधेशमा सिंचाइको पर्याप्त सम्भावना भए पनि कृषिक्षेत्र र मधेश सधैं उपेक्षामा परेका कारण यहाँका कृषकले लाभ लिन नसकेको बताउँछन्। त्यसलाई मध्यनजर गरी प्रदेश सरकारले कृषि सम्बन्धी ऐन निर्माण गरी कृषि क्षेत्रको व्यवसायीकरण र नागरिकको आकर्षण बढाउने गरी काम गर्ने योजना बनाएको उनको भनाइ छ। (रासस)