अर्जेन्टिनाको अपराजित यात्रामा उरुग्वेको धक्का
विश्वकप फूटबल २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटतर्फ आज भएको खेलमा उरुग्वे विजयी भएको छ।
उरुग्वेले अर्जेन्टिनालाई २-० गोलअन्तरले हराएको हो। उरुग्वेका लागि रोनाल्ड आराउजोले ४१औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पछि ८७औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै विश्वविजेतालाई २-० गोलअन्तरले स्तब्ध पारेका थिए।
सन् २०२२ को विश्वकपमा आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २-१ गोलअन्तरले हारेयता अर्जेन्टिना अपराजित थियो। यसबीचमा अर्जेन्टिना विश्वकपको उपाधि पनि जित्न सफल भएको थियो।
विश्वकपको फाइनलयता अर्जेन्टिनी टोलीले कुनै पनि खेलमा गोल बेहोरेको थिएन। अर्जेन्टिनी टोलीका गोलरक्षक एमिलियानो मार्टिनेजले पछिल्ला ७५२ मिनेटको खेल अवधिमा गोल बेहोरेका थिएनन्।
हारका बावजूद अर्जेन्टिना दक्षिण अमेरिकी छनोटको अंकतालिकामा शीर्षस्थानमा कायमै छ। अर्जेन्टिनाले पाँच खेलमा चार जित र एक हार बेहोरेको छ। दोस्रो स्थानमा उरुग्वे छ। उरुग्वेले तीन जित, एक हार र एक बराबरी खेलेको छ। तेस्रो, चौथो र पाँचौंमा क्रमशः कोलम्बिया, भेनेजुएला र ब्राजिल छन्।
अर्जेन्टिनाले आगामी खेल नोभेम्बर २२ मा ब्राजिल विरुद्ध खेल्नेछ।