अतिवादी घटनाको छानबिन गर्न माग
![अतिवादी घटनाको छानबिन गर्न माग](https://www.himalkhabar.com/uploads/posts/800X600/morcha-1696258359.jpg)
तीन राजनीतिक दलले देशका विभिन्न भागमा भइरहेका अतिवादी घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
साम्प्रदायिक दङ्गा भड्काउने खालका घटना हुन नदिन सरकारले वेलैमा उचित कदम चाल्नुपर्ने उनीहरूको माग छ। सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरेर राष्ट्रिय जनमुक्ति पार्टी, सामाजिक एकता पार्टी र नेपाल संघीय समाजवादी पार्टीले यस्ता घटनाप्रति सतर्क र सचेत हुन समेत आग्रह गरेका हुन्।
जनताको बलिदानीबाट प्राप्त गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता जस्ता उपलब्धिमाथि सुनियोजित प्रहार भइरहेको उनीहरूको निष्कर्ष छ। युवा शक्ति तथा प्रतिभा पलायन रोक्न विशेष राष्ट्रिय नीति आवश्यक रहेको जनमुक्तिका कार्यकारी अध्यक्ष केशव सूर्यवंशी, सामाजिक एकताका अध्यक्ष सीबी गहतराज र संघीय समाजवादीका अध्यक्ष रिजवान अन्सारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।