हुम्लाका रिन्जिन फुन्जोकले पाए ‘रोलेक्स कन्जर्भेशन अवार्ड’
![हुम्लाका रिन्जिन फुन्जोकले पाए ‘रोलेक्स कन्जर्भेशन अवार्ड’](https://www.himalkhabar.com/uploads/posts/800X600/Nepali-conservationist-among-Rolex-awardees-NT-1-copy_1624278752.jpg)
वन्यजन्तु संरक्षणमा योगदान पुर्याए बापत हुम्लाका रिन्जिन फुन्जोक लामाले ‘रोलेक्स कन्जर्भेशन अवार्ड २०२१’ प्राप्त गरेका छन्।
उच्च हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा, ब्वाँसो, कालो भालु, जंगली चौँरी लगायत जनावर र वातावरण संरक्षणमा योगदान दिए बापत अवार्ड दिइएको रोलेक्स डटओआरजीले जनाएको छ।
रोलेक्सले सोमबार विभिन्न देशका पाँच पुरस्कृतको नाम घोषणा गरेको हो।
लामा सन् २०१४ देखि उच्च हिमाली भेगका वन्यजन्तुको अध्ययन र संरक्षणमा संलग्न छन्। उनले गत वर्ष विश्व वन्यजन्तु कोषको ‘नेपाल कन्जर्भेशन अवार्ड’ पनि पाएका थिए।
लामाले जर्मनी र न्युजिल्यान्डबाट ‘अन्तर्राष्ट्रिय प्रकृति संरक्षण’मा स्नातकोत्तर गरेका छन्।
चार दशकदेखि संरक्षण र मौलिक रोजगारी वृद्धिमा योगदान पुर्याउने विश्वभरका नागरिकबाट छनोट गरेर रोलेक्सले अवार्ड दिँदै आएको छ।
लामाले शुरू गरेको समुदायमा आधारित संरक्षण अभियानले स्थानीयवासीलाई समेत जागरुक बनाएको छ। लामाले आफ्नो अभियानमा स्थानीयको सहभागितालाई पनि जोड दिँदै आएका छन्।
हिमाली वातावरण र वन्यजन्तुको संरक्षणका लागि उनले जनचेतना अभियानलाई पनि अगाडि बढाएका छन्। लामाले डढेलो नियन्त्रण, वन फँडानी लगायतका विषयमा चेतनामूलक कार्यक्रम चलाउँदै आएका छन्। त्यसमा महिला सहभागितामा उनको जोड छ।
संरक्षणका लागि लामाले युवाको समूह नै बनाएका छन्। उनीहरूले ‘क्यामेरा ट्र्याप’ को माध्यमबाट अध्ययन गरेर वन्यजन्तुबाट हुने क्षति कम गर्न पनि प्रशिक्षण चलाउँदै आएका छन्।
लामाले रोजगारी वृद्धिका लागि स्थानीय महिलासँग परम्परागत पोशाक बनाउने अभियान पनि चलाएका छन्। उनले कृषि र जडीबुटी कम्पनीसँग सहकार्य गरेर गाउँमा रोजगारी वृद्धिमा योगदान पुर्याइरहेका छन्। लामा ‘इकोटुरिजम’ का लागि ‘ट्रेकिङ ट्रायल’ पत्ता लगाउन लागिपरेका छन्।