माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
![माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा](https://www.himalkhabar.com/uploads/posts/800X600/football_19_1695634174.jpg)
माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोलअन्तरले पराजित गरेको हो। जितसँगै नेपाल समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइलनमा प्रवेश गरेको हो।
नेपाललाई प्रशान्त लकसमले अग्रता दिएका थिए। उनले खेलको १८औं मिनेटमा गोल गरेका थिए।
त्यसपछि खेलको ३०औं मिनेटमा समीर तामाङले नेपालका लागि गोल गरे। पहिलो हाफमा नेपालले माल्दिभ्सलाई दबाबमा राख्यो।
खेलको दोस्रो हाफमा माल्दिभ्स खेलमा फर्किएको थियो। खेलको ५८औं मिनेटमा आदम रसिदले गोल गरेका थिए।
खेलको अन्तिम समयमा नेपालले तेस्रो गोल गरेको हो। नेपालका लागि ८८औं मिनेटमा नीराजन धामीले गोल गरेका हुन्।
नेपालले इन्जुरी समयमा चौथो गोल थपेको हो। नेपालका लागि समीर तामाङले गोल थपेका हुन्।
दोस्रो हाफको खेल प्रतिस्पर्धात्मक बनेको थियो। दुवै टोलीले गोलका लागि पटक पटक प्रहार गरेका थिए।
नेपाल रहेको समूह ‘ए’ बाट विजेता बन्दै पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ। यसअघिको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो।
त्यस्तै, समूह ‘बी’ बाट बाङ्लादेश बाहिरिसकेको छ। बाङ्लादेश दुवै खेलमा पराजित भएको छ। एक-एक खेल जितेका भारत र भुटान सेमिफाइनलमा पुगेका छन्। आजै भारत र भुटानबीच हुने खेलले समूह विजेता र उपविजेता तय हुनेछ।