मेस्सी र डि ब्रुएनलाई पछि पार्दै हालान्डले जिते यूरोपको उत्कृष्ट खेलाडीको पुरस्कार
![मेस्सी र डि ब्रुएनलाई पछि पार्दै हालान्डले जिते यूरोपको उत्कृष्ट खेलाडीको पुरस्कार](https://www.himalkhabar.com/uploads/posts/800X600/Haaland_1693534855.jpg)
हालान्डले ३५२ पोइन्ट पाएर पुरस्कार जितेका हुन् भने अर्जेन्टिनी सुपरस्टार खेलाडी मेस्सीले २२७ तथा बेल्जियमका ब्रुएनले २२५ पोइन्ट पाएर क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे।
लियोनल मेस्सी र केभिन डि ब्रुएनलाई पछि पार्दै अर्लिङ हालान्डले यूरोपको वर्ष २०२२/२३ को उत्कृष्ट खेलाडीको पुरस्कार जितेका छन्। प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर तथा नर्वेजियन खेलाडी २३ वर्षीय हालान्डले २०२२/२३ मा कुल ५३ खेलमा ५२ गोल गरेका थिए।
हालान्डकै शानदार प्रदर्शनको मद्दतमा म्यानचेस्टर सिटीले गत सिजनमा प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगको उपाधि पनि जितेको थियो। प्रिमियर लिग र च्याम्पियन्स लिगमा त उनी सर्वाधिक गोलकर्ता पनि बनेका थिए। प्रिमियर लिगमा उनले चार ह्याट्रिक सहित कीर्तिमानी ३६ गोल गरेका थिए। यस्तै, च्याम्पियन्स लिगमा उनले ११ खेलमा १२ गोल गरेका थिए।
बिहीबार मोनाकोमा यूईएफए च्याम्पियन्स लिगको समूह चरणको खेलतालिका सार्वजनिक गर्ने कार्यक्रममा हालान्ड वर्षको उत्कृष्ट खेलाडी चयन भएको घोषणा गरिएको थियो।
हालान्डले ३५२ पोइन्ट पाएर पुरस्कार पाउँदा दोस्रो स्थानमा रहेका अर्जेन्टिनी सुपरस्टार खेलाडी मेस्सीले २२७ पोइन्ट पाएका थिए। यस्तै, बेल्जियम तथा म्यानचेस्टर सिटीकै ब्रुएनले २२५ पोइन्टका साथ तेस्रो स्थान हासिल गरे।
यो पुरस्कार खेल पत्रकार र प्रशिक्षकले दिएको मतको आधारमा तय गरिएको थियो। प्रशिक्षकको हकमा भने उनीहरूले आफ्नै टोलीका खेलाडीलाई मत दिन नपाउने व्यवस्था छ।
यस्तै, वर्ष २०२२/२३ को वर्षको उत्कृष्ट प्रशिक्षकको पुरस्कार म्यानचेस्टर सिटीकै पेप गुआर्डिओलाले जिते। महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी आइटाना बोनमाटी भइन् भने सरिना विइग्म्यान उत्कृष्ट प्रशिक्षक बनिन्। मिरोस्लाभ क्लोजले वर्षको उत्कृष्ट क्लब अध्यक्षको पुरस्कार थापे।