निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको अड्डी
सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाइछोड्ने अड्डी कसेको छ।
अर्थमन्त्री प्रकाशशरण महतले संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाँडै निर्माण गरिने बताए। उनले भने, “लगानी मोडालिटी तय गरी यो आयोजना चाँडै अघि बढाइनेछ।”
बजेटले निजगढमा वातावरणीय प्रभाव मूल्याङ्कन, मुआब्जा वितरण लगायत पूर्व तयारीका लागि रकम विनियोजन गरेको छ। निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको औचित्य र आवश्यकताबारे विवाद हुँदै आएको छ।
भैरहवा र पोखरामा ठूलो लगानीमा निर्माण गरिएका अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन सकेका छैनन्। वातावरण संरक्षणकर्मीले निजगढमा विमानस्थल बनाउँदा ठूलो वातावरणीय नोक्सानी हुने बताउँदै आएका छन्।