थप समाचार मंगलबार, साउन ७, २०७६

बेलायतको लिबरल पार्टी नेतामा पहिलो पटक महिला नेत्री

रासस

बेलायतको युरोपेली युनियन पक्षधर विपक्षी दल लिबरल डेमोक्र्याटिक पार्टीको नेतामा पहिलो पटक महिला नेत्री चुनिएकी छन् ।

तस्वीर : राेयटर्स

ब्रेक्जिट विरोधी यस ३१ वर्ष पुरानो पार्टीमा महिला नेत्री जो स्वीनसन निर्वाचित भएकी हुन्। युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) लाई कुनै पनि हालतमा पारित हुन नदिने उनको पहिलो चुनौती रहेको छ ।

बेलायत आगामी अक्टोबर ३१ मा युरोपेली युनियनबाट अलग हुँदैछ । तर ब्रेक्जिटका जटिलता अझै छन् ।

यसैबीच, युरोपेली संसदको नयाँ निर्वाचन भएको छ भने युरोपेली युनियनमा नयाँ पदाधिकारीहरु निर्वाचित भएका छन् ।

अर्कातर्फ बेलायतमै प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिटमा सहमति जुटाउन नसकेको भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेकी छन् ।

उनको स्थानमा ब्रेक्जिट पक्षधर कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि नेताद्वय बोरिस जोन्सन र जेरेमी हन्ट पार्टी चुनावी प्रतिस्पर्धामा छन् ।

पार्टीको यस चुनावको नतिजा मंगलबार नै सार्वजनिक हुनेछ र दुबैमध्ये एकजना प्रधानमन्त्री बन्नेछन्।

लिबरल डेमोक्र्याटिक पार्टीको चुनावमा नेत्री स्वीनसनले एड ड्याभीलाई पराजित गरेकी थिइन्। स्वीनसनले ४७ हजार ९९७ मत प्राप्त गरेकी थिइन् भने ड्याभीले २८ हजार २१ मत प्राप्त गर्नुभएको थियो।

स्वीनसनले पार्टीका निवर्तमान अध्यक्ष भिन्स केबलको उपप्रमुखका रुपमा दुई वर्षदेखि जिम्मेवारी सम्हालेकी थिइन् । पार्टी नेतृत्वमा चुनिएलगत्तै स्वीनसनले बोरिस जोन्सनको नेतृत्व असफल हुने दाबी गरिन्।

प्रतिकृया दिनुहोस