नक्कली शरणार्थी प्रकरणमा थप एक जना पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी टोलीले थप एक जनालाई पक्राउ गरेको छ।
यस प्रकरणमा ललितपुरकी ३२ वर्षीया लक्ष्मी महर्जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताए। “पक्राउ गरेर जिल्ला अदालतमा पेश गरिसकेका छौं,” एसपी रिजालले भने।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले ३० जना विरुद्ध जेठ १० गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। महर्जन फरार रहेको उल्लेख गरिएको थियो।
उनी सहित यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ। यसअघि पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण सहित १६ जनालाई पक्राउ गरिएको थियो।
यो प्रकरणमा अझै १३ जना फरार छन्। उनीहरूको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला सरकारी वकीलको कार्यालयले ३० जना विरुद्ध ठगी, लिखत कीर्ते, राज्य विरुद्ध र संगठित अपराध गरी गरी चार कसूरमा अभियोग दर्ता गरेको छ। उनीहरूबाट २७ करोडभन्दा बढी रुपैयाँ बिगो दाबी गरिएको छ।