‘हाइप्रोफाइल’ जो अनुसन्धानको दायरामै छन्

प्रमाण नपुग्दा अहिले मुद्दा नलगाइएको भए पनि केही उच्च पदस्थ व्यक्तिहरूमाथि थप अनुसन्धान गर्न जिल्ला सरकारी वकीलको कार्यालयले प्रहरीलाई पत्राचार गर्ने भएको छ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने राज्यसंरक्षित संगठित ठगी प्रकरणमा ३० जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। पक्राउ परेका अभियुक्तले केही उच्च राजनीतिक र संवैधानिक पदमा रहेकाहरूको समेत नाम मुछे पनि उनीहरू तत्कालका लागि जोगिएका छन्। तर, अनुसन्धानको दायरा बाहिर भने छैनन्।
अदालतमा दर्ता भएको अभियोगपत्रमै प्रतिवादीहरूले बयानमा पोलेका व्यक्तिहरूको हकमा अनुसन्धान जारी रहेको खुलाइएको छ। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३५ र संगठित अपराध निवारण ऐनको दफा २२ अनुसार बयानमा पोलेकाहरू अनुसन्धानको दायरामै रहेका हुन्।
“अभियोगपत्रमा लेखिएपछि प्रहरीलाई अनुसन्धान गर्नू भनेर लेखिराख्नु पर्दैन,” काठमाडौं जिल्ला सरकारी वकीलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले हिमालखबरसँग भने, “तर, हामी यो मुद्दामा चाहिं भोलि नै प्रहरीलाई थप अनुसन्धानका लागि निर्देशन पत्र पठाउँछौं।”
पक्राउ परेका केशव दुलाल, सानु भण्डारीले अनुसन्धान अधिकृतसँगको बयानमा केही उच्च पदस्थ व्यक्तिको नाम पनि लिएका छन्। दुलालले त आफू तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनका छोरा प्रतीक थापा, सचिव प्रेमकुमार राई र इन्द्रजीत राईबाट पीडित भएको दाबी गरेका छन्।
साथै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, सल्लाहकार डा.अजयक्रान्ति शाक्य र काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर बज्राचार्यले समेत भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगेको पूरक बयानमा जिकिर गरेका छन्। दुलालले पोलेकामध्ये इन्द्रजीत पक्राउ परेका छन् भने प्रतीक फरार छन्।
अन्य व्यक्तिमाथि भने तत्काल थप प्रमाण नपुगेको भन्दै अभियोग लगाइएको छैन। भुटानी शरणार्थी सम्बन्धी समस्या हल गर्ने सुझाव दिन गठित बालकृष्ण पन्थी कार्यदल गठन गर्दा थापा गृहमन्त्री र प्रेमकुमार गृहसचिव थिए। दुलालले बयानमा भनेका छन्, ‘म स्वयं ठगिएको पीडित व्यक्ति हुँ।’
दुलालले राष्ट्रिय सभाको चुनावअघि थापाका छोरा प्रतीकलाई तीन करोड रुपैयाँ दिएको पनि बयानमा उल्लेख छ।
अर्का प्रतिवादी सानु भण्डारीले पूर्व गृहमन्त्री थापाकी पत्नी नैनकला थापालाई मन्त्री क्वार्टरमै गएर एक करोड रुपैयाँ बुझाएको, तत्कालीन गृहसचिव राईको गाडीमा एक करोड रुपैयाँ राखिदिएको र पछि इन्द्रजीत राईले सचिवलाई भेटाएर रकम पाएको यकीन गरेको पनि दाबी गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवापत्नी एवं सांसद आरजु राणा देउवा र हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाणले रकम लिएको भनेर सन्देश शर्मा र सानु भण्डारीबीचको अडियो पनि सार्वजनिक भएको थियो।
“स्वतन्त्र प्रमाणले पुष्टि भएमा थप मानिस अनुसन्धानको दायरमा आउँछन्,” नेउपानेले भने, “अनुसन्धानमा को को तानिन्छन् भन्ने प्रमाणले निर्दिष्ट हुन्छ।”