बच्चा जन्मिएको एक महीनाभित्र आँखा जाँच गर्न चिकित्सकको सुझाव

बच्चा जन्मिएको एक महीनाभित्र अनिवार्य रूपमा आँखाको जाँच गराउन चिकित्सकले सुझाएका छन्।
काठमाडौंमा शनिबार पब्लिक हेल्थ डिस्कशन ग्रूपले आयोजना गरेको ‘बहसमा नआएको आँखा स्वास्थ्य’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै विशेषज्ञहरूले बालबालिकाको समयमै आँखा जाँच गर्न सुझाएका हुन्। कार्यक्रममा बोल्दै तिलगंगा आँखा प्रतिष्ठानकी मेडिकल रेटिना कन्सल्टेन्ट डा. इली प्रधानले बालबालिकामा प्रायः दृष्टिदोष (रिफ्रिक्टिभ इरर), पर्दा सम्बन्धी समस्या जस्तै ‘रेटिनोप्याथी अफ प्रिम्याच्योरिटी (आरओपी)’, रेटिनोब्लास्टोमा लगायत समस्या बढी देखिएको बताइन्।
“आँखा जाँच गर्नुपर्छ भन्ने जनचेतना भए पनि अझै पर्याप्त छैन। बच्चा जन्मिएको चार साता वा एक महीनाभित्र अनिवार्य रूपमा आँखाको जाँच गराउनुपर्छ,” डा. प्रधानले भनिन्।
महीना नपुगी जन्मिएका बच्चामा आँखाको समस्याको जोखिम बढी रहने उनले बताइन्। समय नुपगी जन्मिएका २० देखि ३० प्रतिशत बालबालिकामा आरओपीको समस्या आउन सक्ने बताउँदै डा. प्रधानले भनिन्, “महीना नपुगी जन्मिँदा बच्चाहरूको आँखाको पर्दा विकास हुन पाउँदैन। धेरै दिनसम्म आईसीयूमा राख्दा आँखाको जोखिम हुन सक्छ। यस्तो समस्या छिटै पत्ता लगाउन सकियो भने आँखा जोगाउन सकिन्छ।”
पाटन अस्पतालकी एसोसिएट प्रोफेसर तथा पेडियाट्रिक अंकोलोजिस्ट डा. सुचारिता तुलाधरले आँखारोग विशेषज्ञ बाहेक अन्य स्वास्थ्यकर्मीले पनि आँखा सम्बन्धी कुनै समस्या देखिएमा पायक पर्ने आँखा केन्द्रमा उपचार गर्न सिकाउनुपर्ने बताइन्। “कुनै बच्चाले टाउको दुखेको छ, आँखा हेर्न सकिनँ भन्यो भने बेवास्ताभन्दा पनि एक पटक आँखा परीक्षण गर्दा पनि समस्या थाहा पाउन सकिन्छ,” डा. तुलाधरले भनिन्। स्पेसियल न्यूबर्न केअर युनिट (एसएनसीयू) शुरू गर्दा आँखा सम्बन्धी उपचार सेवा पनि जोडेमा धेरै बच्चालाई आँखाको क्यान्सरबाट जोगाउन सकिने उनको भनाइ थियो।
त्यस्तै, तिलगंगा आँखा प्रतिष्ठानकी अंकलुर अंकोलोजिस्ट डा. पूर्णिमा राजकर्णिकार स्थापितले बालबालिकामा देखिने आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) जति सक्दो छिटो पत्ता लगायो, त्यति नै उपचार गर्न सहज हुने बताइन्। यसको प्रमुख लक्षण आँखाको नानीमा सेतो टीका जस्तै देखिनु भएको उनले बताइन्।
डा. स्थापितले भनिन्, “वार्षिक ४० देखि ४५ जना बालबालिकामा यो समस्या पाइएको छ। ३० प्रतिशतलाई वंशानुगत हुन्छ भने बाँकीलाई के कारणले हुन्छ भनेर थाहा हुँदैन। यसको समयमा उपचार भएन भने आँखा रातो हुने, आँखाको घरभन्दा बाहिर आउने, ट्युमर देखिन सक्छ।”
कुनै पनि बच्चालाई अस्पतालबाट डिस्चार्ज गर्दा सम्पूर्ण अङ्ग परीक्षण गर्नुपर्ने व्यवस्था नेपालमा पनि गर्नुपर्ने उनको भनाइ थियो। जसले गर्दा आँखा सम्बन्धी धेरै समस्याबाट बालबालिका जोगिने उनले बताइन्।