समाचार विहीबार, साउन २, २०७६

बर्दिवास–जयनगर रेलमार्गको इनरुवा खण्डमा बाढीले क्षति

रासस

गत सातादेखि परेको निरन्तर वर्षाका कारण निर्माणाधीन बर्दिवास–जयनगर रेलमार्गको इनरुवा खण्डमा क्षति पुगेको छ ।

फाइल तस्वीर

यस रेलमार्गको ७० मीटर क्षेत्रमा असर पुगेको हो । वर्षातका कारण हालै सम्पन्न भएको रेलमार्गमा क्षति पुगेको रेल विभागले जनाएको छ ।

कमला नदीमा तटबन्ध फुट्दा आएको बाढीले त्यस स्थानमा असर पुगेको विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर अमन चित्रकारले बताए ।

सो स्थानमा ‘ट्रयाक’ निर्माण भइरहेकामा संरचनामा बाढीले क्षति पुर्‍याएको हो । उनले भने, “केही समयपछि त्यस स्थानमा फेरि काम शुरु हुनेछ ।”

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन पाँच रेलमार्गमध्ये जयनगर–बर्दिवास पनि रहेको छ । नेपाल र भारतको सीमा क्षेत्रमा रेलमार्ग निर्माण गर्ने सन् २०१० मा भारत सरकारसँग सम्झौता भएको थियो ।

‘नेपाल–भारत अन्तरदेशीय रेलमार्ग’ अन्तर्गत यस रेलमार्गमा नै सबैभन्दा बढी भौतिक प्रगति भएको पाइन्छ । सो रेलमार्ग सञ्चालन गर्न सरकारले दुईवटा रेल सेट खरीदको समेत प्रक्रिया शुरु गरिसकेको छ ।

भारतको सरकारी कम्पनी मार्फत नेपाल सरकारले रेल खरीद प्रक्रिया अघि बढाउन लागेको हो । रेल आगामी दशैँसम्ममा सञ्चालन गर्ने सरकारको योजना छ ।

प्रतिकृया दिनुहोस