अनन्त र नवयुगको गोलमा नेपाल विजयी
![अनन्त र नवयुगको गोलमा नेपाल विजयी](https://www.himalkhabar.com/uploads/posts/800X600/nepal_football_1679493939.jpg)
प्रधानमन्त्री त्रिदेशीय कप फूटबल प्रतियोगितामा नेपालले विजयी शुरूआत गरेको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा चैत ८ गते साँझ भएको खेलमा नेपालले लाओसलाई २-० गोल अन्तरले पराजित गरेको हो। नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरेका हुन्।
खेलको ३१औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले हेडर मार्फत गोल गरेका थिए। पहिलो हाफमा १-० ले अग्रता लिएको नेपालले दोस्रो हाफमा अर्को गोल थपेको थियो।
![](https://www.himalkhabar.com/uploads/editor/Sports/Football/ananta%20tamang.jpg)
खेलको ५६औं मिनेटमा नवयुग श्रेष्ठले शानदार गोल गरेका थिए। उनले ३५ यार्ड टाढाबाट हाफ भलीमा गोल गरेका हुन्।
त्रिदेशीय प्रतियोगितामा नेपालसँगै लाओस र भुटानले प्रतिस्पर्धा गर्नेछन्। आजबाट शुरू भएको प्रतियोगिता चैत १७ गतेसम्म चल्नेछ।
नेपालको अर्को खेल चैत १४ गते भुटानसँग हुनेछ। त्यसअघि चैत ११ गते लावस भुटानबीच प्रतिस्पर्धा हुनेछ।
तीन देश सहभागी प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा भिड्नेछन्।