विदेशीलाई खुशी पार्न रासायनिक मलको मूल्यवृद्धि गरियो: एमाले
![विदेशीलाई खुशी पार्न रासायनिक मलको मूल्यवृद्धि गरियो: एमाले](https://www.himalkhabar.com/uploads/posts/800X600/uml_office_1676621779.jpg)
विदेशीलाई खुशी पार्न सरकारले रासायनिक मलको मूल्यवृद्धि गरेको आरोप लगाउँदै तत्काल फिर्ता लिन नेकपा (एमाले)ले माग गरेको छ।
एमालेको कृषि तथा पशुपन्छी विभागका प्रमुख गिरधारीलाल न्यौपानेले आइतबार प्रेस विज्ञप्ति जारी गरी रासायनिक मलको मूल्यवृद्धि गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। रासायनिक मलको अनुदान कटौती गर्ने र मूल्यवृद्धि गर्ने निर्णयले किसान मर्कामा पर्ने एमालेको ठहर छ।
रासायनिक मलमा दिंदै आएको अनुदान कटौतीले भारतीय उत्पादनलाई प्रोत्साहन गर्ने एमालेले जनाएको छ। एमालेले भनेको छ, ‘वर्तमान नेपाल सरकारको रासायनिक मलमा अनुदान कटौतीको निर्णयबाट सरकार स्वदेशी उत्पादनलाई निरुत्साहित गरी भारतीय कृषि उपजको व्यापार बढाउन उद्यत रहेको स्पष्ट हुन गएको छ।’
यससँगै रासायनिक मलको मूल्यवृद्धिले पनि भारतलाई नै फाइदा पुग्ने एमालेले जनाएको छ। विदेशीलाई खुशी पार्न मूल्यवृद्धि गरिएको एमालेको आरोप छ। ‘नेपाली किसानको प्रतिस्पर्धी क्षमतालाई कमजोर पारी विदेशी उत्पादनलाई नेपाली बजार कब्जा गर्न सहज गराउने नियोजित उद्देश्य सहित ल्याइएको मूल्य वृद्धिको निर्णय विदेशीलाई खुशी पार्ने कामको निकृष्ट उदाहरण हो भन्ने कुरामा दुईमत हुन सक्दैन,’ एमालेले भनेको छ।
एमालेले मूल्यवृद्धिको निर्णय फिर्ता लिन माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘विना आधार मलको मूल्यवृद्धि गर्ने किसानमारा निर्णय सच्याई मलको मूल्य यथावत् कायम गर्दै आवश्यक मात्रामा मलको सहज आपूर्तिको सुनिश्चितता गर्न र किसानले उत्पादन गरेको कृषि उपजहरूको उचित मूल्यमा खरीद गर्ने कार्यक्रम लागू गर्न हाम्रो विभाग नेपाल सरकारसँग जोडदार माग गर्दछ।’
गत फागुन २६ गते मन्त्रिस्तरीय निर्णयबाट रासायनिक मलमा दिइएको अनुदान कटौती गरिएको थियो। त्यस्तै, मन्त्रीस्तरीय निर्णयबाट रासायनिक मलको मूल्यवृद्धि गरिएको थियो।