मस्तिष्क मृत्यु भएका व्यक्तिका अङ्ग एकैपटक तीन जनामा प्रत्यारोपण
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका एक व्यक्तिबाट प्राप्त अङ्ग तीन जनामा प्रत्यारोपण गरेको छ।
शुक्रबार केन्द्रले पत्रकार सम्मेलन गरी मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो तीन व्यक्तिमा प्रत्यारोपण गरिएको जनाएको छ। केन्द्रका अनुसार, यही फागुन १६ गते रुपन्देहीको मायादेवी गाउँपालिका-४ का ४७ वर्षीय पुरुष र सिरहाको सिरहा नगरपालिका-१ का ३५ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको हो। त्यस्तै, ललितपुर महानगरपालिका-२५ का ६८ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको छ।
अङ्गदाताको गोपनीयता कायम राख्नुपर्ने भएकाले विवरण उल्लेख नगरिएको केन्द्रका कार्यकारी दिर्नेशक डा.पुकारचन्द्र श्रेष्ठले बताए। तीनै जनाको एकसाथ प्रत्यारोपण गरिएको डा.श्रेष्ठको भनाइ छ।
डा. श्रेष्ठको नेतृत्वमा भएको प्रत्यारोपणमा डा. रोशन घिमिरे, डा. ललितकुमार दास र भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरूको सहभागिता थियो। त्यस्तै, प्रा.डा. राकेशकुमार बर्मा, प्रा.डा. पवन चालिसे, डा. दीपेश श्रेष्ठ, डा. रविकिरण गौतम, डा. हरि बराल, डा. रोजन अधिकारी लगायत सर्जरीमा कार्यरत चिकित्सक पनि प्रत्यारोपणमा संलग्न थिए।
केन्द्रका अनुसार, २०७४ वैशाख २८ गते पहिलो पटक मस्तिष्क मृत्यु भएको व्यक्तिको अङ्गबाट प्रत्यारोपण शुरू भएको थियो। हालसम्म पाँच जना व्यक्तिबाट अङ्ग प्राप्त गरी १३ जनामा प्रत्यारोपण भएको छ।
यस पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदान गर्नका लागि डा. रवीन्द्र प्रधानाङ्ग, डा. आहना श्रेष्ठ, सुधन केसी लगायत समाजसेवी, सामाजिक अभियन्ता साथै बिरामीका परिवारको पहलले यो कार्य सम्भव भएको डा. श्रेष्ठले बताए।
मस्तिष्क मृत्यु हुने व्यक्तिले आफू जीवित हुँदा मृत्युपश्चात् अङ्गदान गरेको वा नजिकको नातेदारले मस्तिष्क मृत्युपश्चात् निजको शरीरबाट अङ्गदान गर्न मन्जुरी दिएको अवस्थामा मात्र अङ्ग प्रत्यारोपण गर्ने सकिने मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को पहिलो संशोधन २०७२ तथा नियम २०७३ ले व्यवस्था गरेको छ।
अङ्ग प्रत्यारोपणका लागि कानून बने पनि जनचेतना अभावका कारण कार्यान्वयनमा सोचे जस्तो सफलता पाउन नसकेको डा. श्रेष्ठले बताए। उनका अनुसार, एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट दुई वटा मिर्गौला, दुई वटा फोक्सो, एक-एक वटा कलेजो, मुटु, प्याङ्क्रियाज, सानो आन्द्रा गरी आठ जना व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ।