भक्तपुरमा तीन दिने पुस्तक मेला हुँदै
भक्तपुरको महेश्वरी ब्यांक्वेटमा माघ ५ देखि ७ गतेसम्म पुस्तक मेला हुने भएको छ।
बूक क्लब भक्तपुरको आयोजनामा हुने ‘ स्टुडेन्ट्स बूक फेयर’ नाम पुस्तक मेलामा २० भन्दा बढी पुस्तक प्रकाशक तथा वितरण संस्थाको सहभागिता रहने आयोजकले जनाएको छ। विद्यालय र क्याम्पस तहका बालबालिका र किशोरकिशोरीमा पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्ने लक्ष्य सहित मेला आयोजना गरिएको हो।
पुस्तक मेलामा विभिन्न कार्यक्रम पनि हुनेछ। उद्घाटन कार्यक्रममा रंगकर्मी सुनील पोखरेल, शिक्षक योगेन्द्रमान बिजुक्छें र साहित्यकार बिना थिङले पठक संस्कृतिको प्रवर्द्धनबारे मन्तव्य राख्नेछन्। माघ ७ गते पोषणविज्ञ डा.अरुणा उप्रेतीले किशोरकिशोरीको स्वास्थ्य र पोषणबारे जानकारी दिने कार्यक्रम छ। यस्तै, किशोरकिशोरीबीच पुस्तक अध्ययनबारे अन्तरक्रिया, कथा र कविता वाचन तथा साङ्गीतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ। त्यस्तै, प्रदर्शनमा भक्तपुरको मौलिक खानाका परिकार समेत पाइनेछ।
मेलामा चलचित्र प्रदर्शनी, कला कार्यशाला, लिपि कार्यशाला, कार्टून कार्यशाला आदि कार्यक्रम पनि सञ्चालन गरिने आयोजकले जनाएको छ। मेलामा प्रवेश निःशुल्क हुनेछ।