ईपीजी प्रतिवेदन बुझ्न मोदीले समय दिएनन्: राजन भट्टराई
![ईपीजी प्रतिवेदन बुझ्न मोदीले समय दिएनन्: राजन भट्टराई](https://www.himalkhabar.com/uploads/posts/800X600/rajan_bhattarai_1667388116.jpg)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नबुझेका कारण ईपीजी प्रतिवेदन अड्किएको नेकपा (एमाले)का नेता राजन भट्टराईले बताएका छन्।
प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले ईपीजीले सन् २०१८ जुलाईमा तयार पारेर दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको उल्लेख गरे। तर, भारतीय प्रधानमन्त्री मोदीले समय नदिएको उनको भनाइ थियो।
“भारतीय पक्षलाई प्रधानमन्त्री मोदीले समय दिनुपर्ने हो। त्यो दिन नसकेका कारण प्रतिवेदन अड्किएर बसेको छ,” उनले भने।
अब एमाले सरकारमा आएपछि सीमा सम्बन्धी अड्किएका विषयवस्तुलाई कूटनीतिक माध्यमबाट उठाउने र सहमति भएका विषय कार्यान्वयन गर्नमा जोड दिइने उनको भनाइ थियो।
मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १९ र २० गते काठमाडौंमा हुन लागेको प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका प्रचार विभाग प्रमुख प्रभुराम थापाले बताए। यसको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।