चार वटा औषधि बिक्री वितरणमा रोक
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भारतमा उत्पादित चार वटा खोकीको औषधि बिक्रीमा रोक लगाएको छ।
डब्लूएचओले बालबालिकाका लागि प्रयोग हुने कफ सिरप–खोकीको औषधिबाट पश्चिम अफ्रिकी देश गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएपछि बिक्री वितरणमा रोक लगाएको हो। गाम्बियामा मिर्गौलाको समस्या देखिएर बालबालिकाको मृत्यु भएको डब्लूएचओले जनाएको छ।
भारतको हरियाणास्थित माइडेन फार्मास्युटिकल्सले उत्पादन गरेको औषधिमा डायाथालिन ग्लाइकोल र इथालिन ग्लाइकोलको मात्रा निकै धेरै रहेको पाइएको थियो। जानकारहरूका अनुसार, डायाथालिन ग्लाइकोल र इथालिन ग्लाइकोल मानव शरीरका लागि निकै हानिकारक मानिन्छन्।
डायाथालिन ग्लाइकोलको असरले पेट दुख्ने, बान्ता हुने, झाडा लाग्ने, पिसाब फेर्न गाह्रो हुने, टाउको दुख्ने तथा मिर्गौलामा घाउ लाग्ने सम्भावना हुन्छ।
प्रोमेथाजाइन ओरल सोलुशन, कोफेक्समालिन बेबी कफ सिरप, मेकअफ बेबी कफ सिरप र मग्रिप एन कोल्ड सिरप यी चार औषधि भारतबाट उत्पादन भई विभिन्न ठाउँमा निर्यात भइरहेका थिए।
माइडेन फार्मास्युटिकल्स कम्पनी नेपालमा दर्ता नभएको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। उनले नेपालमा औषधि आउनुअघि पूरा जाँच हुने भएकाले डायाथालिन ग्लाइकोल मिसिएको कुनै पनि औषधि नभित्रिएको बताए।