डेंगीका बिरामी २५ हजार नाघे, ३२ जनाको मृत्यु
डेंगी संक्रमितको संख्या २५ हजार नाघेको छ भने अहिलेसम्म ३२ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबारसम्म देशभर २५ हजार ५४३ जनामा डेंगी देखिएको छ। सबैभन्दा बढी बागमती प्रदेशमा देखिएका छन्।
सोमबारसम्म बागमतीमा १९ हजार ९१० जनामा डेंगी देखिएको छ। यसपछि लुम्बिनीमा दुई हजार ८८७ र सुदूरपश्चिममा ८०४ जनामा डेंगी पुष्टि भएको छ।
त्यस्तै, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णाली प्रदेशमा २३१ जनामा डेंगी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
डेंगीबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ। योसँगै डेंगी लागेर मृत्यु हुनेको संख्या ३२ पुगेको छ।
नेपालमा डेंगीको संक्रमण २०६१ सालमा देखिएको थियो। त्यसयता हरेक वर्ष डेंगी देखिंदै आएको छ।
यो वर्ष साउनदेखि डेंगीको संक्रमण शुरू भएको हो। दुई महीनामै प्रकोपका रूपमा फैलिएको छ। अहिलेसम्म देशका ७६ जिल्लामा डेंगी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।