पीसीएल नर्सिङ भर्नाका लागि ३३ कलेजलाई अनुमति
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले शैक्षिक सत्र २०७९/८० मा प्रमाणपत्र तह (पीसीएल) नर्सिङ कार्यक्रममा भर्ना खुलाएको छ।
सीटीईभीटीले साउन २७ गते भर्ना सम्बन्धी सूचना जारी गरेको हो। भर्नाका लागि ३३ वटा कलेजलाई अध्यापन गराउने अनुमति दिएको जनाइएको छ।
चिकित्सा शिक्षा ऐन लागू हुनुअघि सीटीईभीटीले १०९ वटा कलेजलाई पीसीएल नर्सिङ अध्यापन गराउने अनुमति दिने गरेको थियो। तर‚ ऐन लागू भएपछि १०० शय्याको आफ्नै अस्पताल नभएका नर्सिङ कलेजलाई अध्यापन गराउने अनुमति रोकिएको छ।
अस्पताल निर्माण गर्न दुई वर्षको समय तोकिएको थियो। तर‚ कोरोना महामारीको कारण देखाउँदै कलेजहरूले आलटाल गरिरहेका थिए।
परिषद्ले गत वर्ष ४५ वटा नर्सिङ कलेजलाई भर्नाका लागि अनुमति दिएको थियो। तर‚ चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४२ अनुसार, विश्वविद्यालय प्रतिष्ठान र विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त शिक्षण संस्थाहरूमा पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न नहुने भन्दै चिकित्सा शिक्षा आयोगले ऐन विपरीत भर्ना नलिन निर्देशन दिएको थियो। सोही अनुसार १६ वटा क्याम्पसलाई भर्ना प्रक्रिया अघि बढाउन रोक लगाइएको थियो।
त्यस्तै, सरकारले आफ्नै अस्पताल नभएका कलेजहरूलाई भर्ना अनुमति दिने चलखेल गरेको भन्दै डा. गोविन्द केसीले यसो नगर्न आग्रह गरेका छन्। केही दिनअघि विज्ञप्ति जारी गर्दै डा. केसीले मापदण्ड नपुगेका कलेजहरूलाई भर्ना अनुमति दिए अनशन बस्ने चेतावनी दिइसकेका छन्।
गत वर्षभन्दा यस वर्ष चार वटा बढी कलेजलाई अनुमति दिइएको छ। जनकपुरका मिथिला टेक्निकल एकेडेमी र नेपाल टेक्निकल इन्स्टिच्यूट तथा पोखराका फेवासिटी इन्स्टिच्यूट अफ मेडिकल साइन्स र फिस्टेल नर्सिङ कलेजले यस वर्ष अनुमति पाएका छन्।
सीटीईभीटीले प्रदेश १ का पाँच‚ मधेश प्रदेशका १०, बागमती प्रदेशका ११, गण्डकी प्रदेशका चार, लुम्बिनी प्रदेशका तीन वटा कलेजलाई नर्सिङ अध्यापन गराउन अनुमति दिएको छ।