ललितपुरबासीले पनि सडकमै फाल्न थाले फोहोर
काठमाडौंसँगै ललितपुर महानगरपालिका क्षेत्रमा पनि फोहोर उठ्न छाडेको छ। केही दिनदेखि महानगरबासीले सडकमै फोहोर फाल्न थालेका छन्।
फोहोर व्यवस्थापन गरिंदै आएको स्थान सिसडोलबाट बन्चरेडाँडासम्म जाने सडक मर्मत भइरहेको छ। जसले गर्दा १२ दिनदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको छैन।
नुवाकोटको सिसडोलदेखि बन्चरेडाँडा ल्यान्डफिल साइट जाने करीब दुई किलोमिटर बाटो बिग्रिएको छ। यो सडक समयमै मर्मत नहुँदा फोहोर व्यवस्थापनमा समस्या भएको हो।
यसअघि काठमाडौं महानगरका सडकमा फोहोर थुप्रिएको देखिन्थ्यो। यस पटक भने ललितपुरका सडकमा पनि फोहोर थुप्रिन थालेको छ। एक सातादेखि ललितपुर महानगरको कार्यालय वरपरको क्षेत्रमै फोहोर थुप्रिएको छ।
बन्चरेडाँडामा फोहोर विसर्जन गर्न नसक्दा ललितपुर महानगर क्षेत्रभित्र पनि फोहोर देखिन थालेको महानगरका प्रवक्ता राजु महर्जनले बताए। यसअघि ललितपुरका सडकमा फोहोर थुप्रिने गरेको थिएन।
“केही दिन त ललितपुर महानगरबासीले घरभित्रै राखेर सहयोग गरेका थिए, घरमा धेरै भएपछि सडकमा फाल्न शुरू गरेका छन्,” प्रवक्ता महर्जनले भने, “धेरै दिन घरभित्र राख्न पनि त सकिंदैन।”
ललितपुर महागनरभित्रै फोहोर व्यवस्थापन गर्ने ठाउँ खोजी गरिएको भए पनि सम्भव नभएको उनको भनाइ छ। अहिले फोहोर व्यवस्थापनका लागि बन्चरेडाँडाको विकल्प नदेखिएको प्रवक्ता महर्जनले बताए।
त्यसैले अहिले काठमाडौं उपत्यकाका १८ वटै स्थानीय तहका जनप्रतिनिधिले कसरी बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने भनेर छलफल गरिरहेको उनले बताए।
सिसडोलदेखि बन्चरेडाँडासम्म सडक मर्मतका लागि शुरूआतमा साउन पहिलो साता फोहोर नउठ्ने सूचना जारी गरिएको थियो। तर, सडक मर्मतको काम सम्पन्न नभएपछि फेरि एक साता फोहोर नउठ्ने सूचना जारी गरिएको थियो। अझै सडक मर्मतको काम सम्पन्न भएको छैन। अझै केही दिन लाग्ने जनाइएको छ।