अर्थमन्त्री जनार्दन शर्माले लिए शपथ
नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्।
आइतबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा लगायत सहभागी थिए।
चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लगाएपछि गत असार २२ गते शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। उनीमाथि छानबिन गर्न प्रतिनिधि सभाले संसदीय विशेष छानबिन समिति गठन गरेको थियो।
समितिले सफाइ दिएपछि प्रधानमन्त्री देउवाले उनलाई अर्थमन्त्रीमा दोहोर्याएका हुन्। यसअघि आजै अपराह्न प्रधानमन्त्री देउवाको सिफारिशमा राष्ट्रपति भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी थिइन्।