महावीर पुन गण्डकी रत्नबाट विभूषित
गण्डकी प्रदेश सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई गण्डकी रत्नबाट विभूषित गरेको छ।
सोमबार पोखरामा आयोजित एका कार्यक्रमबीच प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुनलाई गण्डकी रत्न प्रदान गरेका हुन्। गण्डकी प्रदेशको चौथो वार्षिकोत्सवको अवसरमा उनलाई विभूषित गर्ने घोषणा गरिएको थियो। उनी देशबाहिर भएकाले आज सम्मान प्रदान गरिएको हो।
पुनले गरेका कामको प्रशंसा गर्दै प्रदेश प्रमुख गुरुङले उनीसँग पाँच दलअघि भएको भेटको स्मरण गरे। आफ्नो कामप्रतिको निरन्तरको लगावले पुन यो स्थानसम्म पुर्याएको प्रदेश प्रमुखको भनाइ थियो।
पुनले अनुसन्धानको क्षेत्रमा गरेको कामको सम्मान गर्दै गण्डकी रत्न प्रदान गरिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए। मुख्यमन्त्री पोखरेलले राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षको बजेमाट १० करोड विनियोजन गरिएको बताए।
विभूषण ग्रहण गर्दै पुनले अध्ययन अनुसन्धानका क्षेत्रमा लगानी गर्नुपर्ने बताए। “अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको हो,” पुनले भने, “युवा रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको छ, अनुसन्धान र विकासमा लगानी बढाउन अब ढिला गर्न हुँदैन।”
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगीमा २०११ सालमा जन्मेका पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन्। उनी रोमन म्यागासेसे पुरस्कारबाट पुरस्कृत व्यक्तित्व हुन्।