बकर ईद मनाउँदै इस्लाम धर्मावलम्बी‚ आज सार्वजनिक बिदा
इस्लाम धर्मावलम्बीहरूले आज बकर ईद (इदुल जोहा) पर्व मनाउँदै छन्। सरकारले बकर इदका अवसरमा सार्वजनिक बिदा दिएको छ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाइन्छ। मुस्लिम धर्मावलम्बीले ईदको बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्दछन्।
हिजरी सम्बत् अनुसार‚ १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्व अध्यक्ष निर्दोष अलीले बताए।
यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ। मक्का मदिना जान गृह मन्त्रालयले आउने जाने जहाजको टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ। मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन्। यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो। यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन्।
यो पर्व तीन दिन मनाउँछन्। तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले बताए।