के कृषि क्षेत्रको बजेट ५० प्रतिशत बढेको हो?
अर्थमन्त्री जनार्दन शर्माले कृषि उत्पादन बढाउन कृषि क्षेत्रमा जाने रकम आगामी आर्थिक वर्षको बजेट मार्फत ५० प्रतिशत वृद्धि गरिएको दाबी गरेका छन्।
अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कृषि बजेट उल्लेख्य रूपमा बढाइएको बताए। “अङ्कमा थोरै बढेको देखिए पनि कृषिमा बजेट ५० प्रतिशत बढेको छ,” उनले भनेका थिए। कृषि क्षेत्रमा बजेट ५० प्रतिशत बढाइएको भनी बोल्न अर्थमन्त्री शर्मालाई अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले कानेखुसी गरेका थिए।
तर, तथ्य जाँच गर्दा अर्थमन्त्रीको दाबी गलत ठहरिएको छ।
चालू आर्थिक वर्षको कार्यगत व्यय अनुमान अनुसार, कृषि, वन मत्स्यपालन तथा सिंचाइ क्षेत्रमा रु.एक खर्ब तीन अर्ब सात करोड विनियोजन गरिएको थियो। यो कुल बजेटको ६.२५ प्रतिशत हो।
आइतबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको बजेटले कृषि, वन मत्स्यपालन तथा सिंचाइ क्षेत्रमा रु.एक खर्ब १९ अर्ब ८९ करोड विनियोजन गरेको छ। यो कुल बजेटको ६.६८ प्रतिशत हो।
चालू आर्थिक वर्षको बजेटको कृषि, वन मत्स्यपालन तथा सिंचाइ क्षेत्रमा छुट्याइएको रकमभन्दा आगामी आर्थिक वर्षमा रु.१६ अर्ब ८२ करोड बढी रकम विनियोजन गरिएको छ। यो १६.३२ प्रतिशत मात्रै धेरै हो। अर्थमन्त्रीले दाबी गरेजस्तो ५० प्रतिशत धेरै होइन।
यद्यपि, यही बीचमा कुल बजेटको आकार पनि नौ प्रतिशतभन्दा धेरैले बढेको छ। त्यसैले, कुल बजेटमा कृषि, वन मत्स्यपालन तथा सिंचाइ क्षेत्रमा छुट्याइएको अनुपात ६.२५ प्रतिशतबाट बढेर ६.६८ प्रतिशत पुगेको छ।
बजेटले कृषि मन्त्रालयलाई छुट्याएको रकम चालू आर्थिक वर्षमा रु.४५ अर्ब १० करोड हाराहारी थियो। आगामी आर्थिक वर्षमा यो रकम रु.५९ अर्ब ९० करोड पुगेको छ। कृषि मन्त्रालयलाई छुट्याइएको रकम भने करीब एक तिहाइले बढेको छ।