स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेशको स्वागत
सरकारले ल्याएको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९’ को निजी स्वास्थ्य संस्था सञ्चालकहरूको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूशन अफ नेपाल (अफिन) ले स्वागत गरेको छ।
बुधबार अफिनका अध्यक्ष वसन्त चौधरीले प्रेस विज्ञप्ति जारी गरी चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई सुरक्षा प्रत्याभूति गराउने गरी अध्यादेश आएकोमा स्वागत गरेका हुन्। सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ वैशाखमा अध्यादेश जारी गरेकी थिइन्।
यसमा ‘जेल विथआउट बेल’ अर्थात धरौटीमा रिहा नहुने व्यवस्था (पुर्पक्षका लागि थुनामा पठाउने व्यवस्था) लाई थप कडाईका साथ लागू गर्नुपर्ने निश्कर्षसहित ऐनमा संसोधन गरी अध्यादेश जारी गरिएकोमा अध्यक्ष चौधरीले सरकारको प्रसंशा गरेका छन्।
अफिको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय सामान्यभन्दा सामान्य समस्या हुँदा पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण हुने अमानवीय र अस्वभाविक घटनाहरु बढ्न थालेका थिए। अफिन र नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने यस्ता घटना बढ्न नदिनका लागि कडा कानूनी व्यवस्था हुनुपर्ने माग उठाइरहेकोमा सरकारले त्यसलाई सम्बोधन गरेको छ।’
अध्यादेशमा गरिएको उचित र समयसापेक्ष कानूनी व्यवस्थाले देशभरका ३५० भन्दा बढी निजी स्वास्थ्य संस्था तथा त्यसमा कार्यरत ५० हजारभन्दा बढी मेडिकल र प्यारामेडिकल जनशक्तिले निर्भिकतापूर्वक बिरामीहरुको सेवामा समर्पित हुने वातावरण बनेको अध्यक्ष चौधरीले जनाएका छन्।