महानगर र उपमहानगरको तालमेलबारे मंगलबार सहमति हुन्छ: कार्की
सत्तारूढ गठबन्धनबीच महानगर र उपमहानगरको भागबण्डाका विषयमा मंगलबार सहमति हुने कांग्रेस नेता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री कार्कीले महानगर र उपमहानगरमा तालमेल गर्ने विषय सहमति नजिक पुगेको बताए। “तालमेलबारे गम्भीरतापूर्वक छलफल गरेका छौं, भोलि (मंगलबार) सहमति हुन्छ,” कार्कीले भने।
६ महानगर र ११ उपमहानगरका विषयमा छलफल भएको उनले बताए। मन्त्री कार्कीले भने, “सहमतिको नजिक पुगेका छौं, अन्तिम रूप दिन मंगलबार बिहान साढे ११ बजे बस्दै छौं।”
सोमबार गठबन्धनको बैठक दुई पटक बसेको थियो। बिहान बसेको बैठकमा झण्डै तीन घण्टा छलफल भएको थियो। त्यसपछि साँझ बसेको बैठकमा पनि दुई घण्टा छलफल भएको छ।
बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिले प्रस्तुत गरेको भागबण्डाको प्रारम्भिक खाकामा छलफल भएको छ। जसमा ६ वटा महानगरमध्ये तीन वटा कांग्रेसलाई र अन्य तीन वटामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई नेतृत्व दिने प्रस्ताव गरिएको छ।
कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर, माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा र जसपालाई वीरगञ्जको नेतृत्व दिने प्रस्तावमा उल्लेख छ।
यसै गरी ११ उपमहानगरमध्ये धरान, जनकपुर, बुटवल, घोराही, तुलसीपुर र नेपालगञ्जमा कांग्रेसलाई नेतृत्व दिन प्रस्ताव गरिएको छ। इटहरी र हेटौंडा उपमहानगरको नेतृत्व एकीकृत समाजवादी, जितपुर सिमरामा एकीकृत समाजवादी र कलैयामा जसपालाई दिन प्रस्ताव गरिएको थियो। धनगढी उपमहानगरको मेयरमा भने कांग्रेस र समाजवादीले दाबी गरिरहेका छन्।
महानगर र उपमहानगरको मेयर तथा उपमेयरसँगै वडाध्यक्षका विषयमा समेत छलफल भएको मन्त्री कार्कीले बताए। “धेरै ठाउँमा सहमतिमा पुगेका छौं,” उनले भने।
सोमबार दुई पटक बसेको गठबन्धनको बैठकमा सहमति हुन नसकेपछि मंगलबार बिहान ११ः३० बजे पुनः बैठक बस्ने भएको छ।