भारतले विस्फोटक पदार्थको निर्यातमा लगायो रोक, नेपालका जलविद्युत् र सडक आयोजना प्रभावित हुने
भारतले विस्फोटक पदार्थको निर्यातमा अनिश्चितकालका लागि रोक लगाएको छ। यसले नेपालका निर्माणाधीन जलविद्युत् र सडक आयोजना प्रभावित हुने भएका छन्।
भारतको पेट्रोलियम तथा विस्फोटक सुरक्षा संगठनले अनिश्चितकालका लागि विस्फोटक पदार्थको निर्यात गर्न रोक लगाएको हो। ३० चैतबाट अर्को निर्देशन जारी नहुँदासम्म विस्फोटक पदार्थ निर्यातको रोक जारी रहने जनाइएको छ।
भारतले आन्तरिक बजारमा विस्फोटक पदार्थको अभाव भएको कारण देखाउँदै रोक लगाएको हो। विस्फोटक पदार्थको अभावका कारण भारतमा पूर्वाधार निर्माण तथा कोइला सहितका खानी मर्कामा पर्दै आएको समाचार ८ जनवरी २०२२ मा टाइम्स अफ इन्डियाले प्रकाशन गरेको थियो। अभावका कारण भारतमा विस्फोटक पदार्थको मूल्य पनि बढेको थियो।
भारतले विस्फोटक पदार्थ निर्यातमा रोक लगाएसँगै नेपालका आयोजनामा पनि असर पर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ। इप्पानका कोषाध्यक्ष आनन्द चौधरीले हिमालखबरसँग भने, “भारतमा विस्फोटक पदार्थको अभाव भएपछि निर्यात रोकेको खबर पाएका छौं, यसले नेपालका निर्माणाधीन जलविद्युत् आयोजना र सडक निर्माणलाई असर पार्छ।”
चौधरीका अनुसार, सुरुङ निर्माण गर्नुपर्ने जलविद्युत् र सडक आयोजनाका लागि विस्फोटक पदार्थ आवश्यक पर्छ। अहिले देशमा करीब तीन हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणाधीन छन्। कतिपय आयोजनाका लागि सुरुङमार्गको निर्माण अनिवार्य छ। त्यसै गरी ठूला पहाड फुटाउन र ढुङ्गा काटेर सडक बनाउन पनि विस्फोटक पदार्थको प्रयोग हुन्छ।
सरकारले अनुमति दिएका परियोजनाले भारतबाट विस्फोटक पदार्थ ल्याउन पाउँछन्। सुरक्षा संवेदनशीलताका कारण नेपाली सेनाले ढुवानी सुरक्षाको जिम्मा लिने गरेको छ।
नेपाली सेनाको मकवानपुरस्थित सुनाचरी इमल्सन प्लान्टले पनि विस्फोटक पदार्थ उत्पादन गर्छ। यसले वार्षिक करीब दुई हजार चार सय टन विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ। तर, नेपालमा वार्षिक पाँच हजार टनसम्म विस्फोटक पदार्थको माग रहेको अनुमान छ।
कतिपय आयोजनाले गुणस्तरमा शङ्का जनाउँदै सेनाको प्लान्टले उत्पादन गर्ने विस्फोटक पदार्थ प्रयोग गर्न हिचकिचाउँदै आएका छन्। नागढुंगा सुरुङमार्ग निर्माण गरिरहेको जापानी कम्पनी हाज्माले सेनाको विस्फोटक पदार्थ प्रयोग अस्वीकार गरेको थियो।