दुर्घटनामा एकै गाउँका पाँच जनाको मृत्यु, गाउँ नै शोकमा
स्याङ्जाको वालिङ-१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको छ।
वालिङ नगरपालिका-१२ डाँडाखर्कबाट बायटारी आउँदै गरेको ग.१ ज ७३९९ नम्बरको जीप फिरफिरेमा दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु भएका सबै जना एकै गाउँको भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पदमराज थापाले बताए।
उनका अनुसार, दुर्घटनामा वालिङ-१२ डाँडाखर्क बस्ने ६५ वर्षीय वीरबहादुर डाला, ४५ वर्षीया हीरा डाला, २५ वर्षीया शर्मिला सारू, उनका ६ महीने छोरा र वालिङ-१४ बस्ने ६१ वर्षीय कूलकुमारी कनौजेको मृत्यु भएको छ।
जीपमा सवार ११ जनामध्ये ६ जना घाइते भएका छन्। घाइते हुनेमा वालिङ-१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डाला, ५५ वर्षीया मायाकुमारी सारू, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीया नवीना सारू, १९ वर्षीया लक्ष्मी डाला र चालक ६० वर्षीय दलबहादुर थापा छन्।
घाइतेको वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ। जीप सडकबाट झण्डै २०० मिटर तल खसेको हो।
त्यस्तै, मृतक र घाइते एकै ठाउँका भएकाले अहिले गाउँ नै शोकमा डुबेको उनले बताए।