सत्यमोहन जोशीको मुटुमा समस्या, आईसीयूमा राखेर उपचार गरिँदै
संस्कृतिविद् सत्यमोहन जोशीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ भने उनको स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको अस्पतालले जनाएको छ।
छाती दुख्ने र पिसाबमा गडबडी भएपछि जोशीलाई १ वैशाख बिहान किस्ट अस्पताल भर्ना गरिएको थियो। उनलाई गएराति साढे ११ बजेदेखि आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिएका छन्।
निर्देशक बज्राचार्यका अनुसार जोशीलाई पिसाब सम्बन्धी संक्रमण देखिएको छ। यससँगै मुटु सुन्निएको र मुटुको चाल सम्बन्धी पनि समस्या देखिएको प्रा.डा. बज्राचार्यले जनाएका छन्।
शनिबार अस्पतालले जोशीको स्वास्थ्य अवस्था सम्बन्धी जानकारी दिन जारी गरेको बुलेटिनमा भनिएको छ, ‘हाल वहाँलाई पिसाब सम्बन्धी संक्रमण, मुटु सुन्निएको र मुटुको चाल सम्बन्धी श्वास प्रश्वास नलीको फाइब्रो ब्रोङ्किएक्टेसिस समस्या देखिएको छ।’
संस्कृतिविद् जोशीको प्रा.डा. मिलेश जंग सिजापती र प्रा.डा. रामभक्त कोजूको संयुक्त टोलीले उपचार गरिरहेको अस्पतालले जनाएको छ। चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ।