धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु, दुई जना पक्राउ
धामीझाँक्रीको भर पर्दा कञ्चनपुरको बेदकाटे नगरपालिका–६ मुसेपानीकी ४२ वर्षीया रञ्चुला साउँदको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउँदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा आउने गरेका थिए। झारफुककै क्रममा साउँदको शुक्रबार राति मृत्यु भएको हो। मृत्युको घटनाबारे शनिबार बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको उनले बताए।
स्थानीय बासिन्दाका अनुसार धामीझाँक्रीद्वयले झारफुकका नाममा साउँदलाई सरिया तताएर कुटपिट गरेका थिए। प्रहरी उपरीक्षक चौधरीले झारफुकमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएको बताए।
महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। “घटनाबारे विस्तृत अनुसन्धान हुँदै छ,” उनले भने, “दोषी जो कोही भए पनि कारबाहीको दायरामा ल्याइनेछ।”
बेदकोट नगरपालिका मेयर अशोककुमार चन्दले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन्। “धामीझाँक्री हल्दुखाल र बाराकुण्डाका हुन् भन्ने आएको छ,” मेयर चन्दले भने, “बिरामीले थला परेकी साउँद तीन दिनदेखि गम्भीर हुँदा पनि धामीझाँक्री झारफुकमै लागेको भन्ने सुनियो।” (रासस)