संसद् भवन अगाडि शङ्कास्पद वस्तु राखेको आरोपमा एक युवक पक्राउ
काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
चाबहिल बस्दै आएका काभ्रेपलाञ्चोकको भुम्लो गाउँपालिका-२ सिमथलीका २१ वर्षीय सुवास महतलाई शङ्कास्पद वस्तु राखेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
एमसीसी सम्झौता अनुमोदन भएको भोलिपल्ट १६ फागुनमा संसद् भवन अगाडि शङ्कास्पद वस्तु राखिएको थियो। त्यसलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो।
अनेरास्ववियु (क्रान्तिकारी) का पशुपति बहुमुखी क्याम्पस एकाइ कमिटी अध्यक्ष महतलाई मंगलबार गौशालाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। घटनामा प्रयोग भएको भन्दै बा. प्र. ०२-०३०-प ७०८५ नम्बरको मोटरसाइकल, हेल्मेट, ज्याकेट र चार थान मोबाइल प्रहरीले बरामद गरेको छ।