एमसीसी अनुमोदन गर्ने निर्णय गलत : नारायणकाजी श्रेष्ठ
नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता व्याख्यात्मक घोषणा सहित पारित गर्ने निर्णयप्रति असहमति जनाएका छन्।
नेता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत आफ्नो असहमति जनाउँदै भनेका छन्, “पाँच दलीय गठबन्धनमा अध्यक्ष क. प्रचण्डले व्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी गराउनुभएको छ। यो ‘निर्णय’ प्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ।”
सत्तारूढ गठबन्धनको बैठकले प्रश्न उठेका विषयमा व्याख्यात्मक टिप्पणी सहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको थियो। त्यसमा नेता श्रेष्ठले असहमति जनाएका हुन्।
यसअघि आजै बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले पनि व्याख्यात्मक टिप्पणी सहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको थियो।
पार्टीको निर्णय पनि गलत भएको भन्दै श्रेष्ठले असहमति जनाएका छन्। “आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरूले मतभेद राखिसकेका छौं। यो महाधिवेशनको विरुद्ध छ र गलत छ,” श्रेष्ठले भनेका छन्।