एमसीसी पारित गर्ने माओवादी निर्णय, पाँच नेताको फरक मत
नेकपा (माओवादी केन्द्र) ले सङ्कल्प प्रस्ताव सहित अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा आइतबार बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले सङ्कल्प प्रस्ताव सहित पारित गर्ने निर्णय गरेको हो। एमसीसी सम्झौतामा भएका विवादित बुँदाको व्याख्यात्मक टिप्पणी सहित पारित गर्ने निर्णय भएको छ।
यसमा पाँच नेताले फरक मत राखेका छन्। माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, कृष्णबहादुर महरा, देव गुरुङ र लीलामणि पोखरेलले फरक मत राखेका हुन्।
सत्तारूढ गठबन्धनको शनिबार बसेको बैठकले सङ्कल्प प्रस्ताव सहित एमसीसी सम्झौता पारित गर्ने सहमति गरेको थियो। त्यसका लागि कांग्रेस महामन्त्री गगनकुमार थापा, माओवादी नेता शक्ति बस्नेत र नेकपा (एकीकृत समाजवादी) निकट कानून व्यवसायी गोविन्द बन्दीलाई सङ्कल्प प्रस्ताव तयार गर्ने जिम्मा दिएको थियो।
त्यही सहमतिका आधारमा माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको हो।