माओवादी र समाजवादीलाई एमसीसीको पक्षमा ल्याउन सङ्कल्प प्रस्तावको तयारी
संसद्बाट सङ्कल्प प्रस्तावसहित मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट अनुमोदन गरेर सत्तारुढ गठबन्धन कायम राख्ने अन्तिम प्रयास जारी रहेको नेताहरूले बताएका छन्।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसीसीको पक्षमा मतदान लागि सहमत गराउन सङ्कल्प प्रस्तावलाई विकल्पको रुपमा अघि सारिएको हो। प्रस्ताव तयार गर्ने जिम्मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, माओवादी केन्द्रका नेता शक्ति बस्नेत र एकीकृत समाजवादी निकट वरिष्ठ अधिवक्ता गोविन्द बन्दीलाई दिइएको एक नेताले जानकारी दिए।
ती नेताका अनुसार ‘एमसीसी कम्प्याक्टमा जे लेखिएको छ, त्यसमा पूर्ण प्रतिबद्ध रहँदै त्यो भन्दा थोरै दायाँ–बायाँ अर्थ लगाइयो भने कुनै पनि वेला नेपालले सम्झौता तोड्नेछ’ भन्ने वाक्यांश राखेर सङ्कल्प प्रस्ताव तयार बनाउने विषयमा छलफल भइरहेको हो। त्यससँगै एमसीसीले नेपाललाई पठाएको स्पष्टीकरण पनि संसद्बाट अनुमोदन गर्ने विषयमा पनि छलफल जारी छ।
“एमसीसी सम्झौतामै ३० दिनको म्याद दिएर दुवै पक्षले सम्झौता तोड्न पाइने प्रावधान भएकाले यो सङ्कल्प प्रस्तावको खास अर्थ छैन, तर माओवादी र एकीकृत समाजवादीलाई फेससेभिङका लागि हामी यो विकल्पका लागि पनि तयार भएका हौं,” कांग्रेसका एक नेताले हिमालखबरसँग भने।
शनिबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा छलफल गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘गठबन्धन पनि नटुट्ने र एमसीसी समस्या पनि समाधान गर्ने उपाय खोजिरहेको’ बताएका थिए।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले शनिबार एक कार्यक्रममा गठबन्धन तोड्ने षड्यन्त्रलाई पराजित गर्ने बताएका थिए।
नेपाली कांग्रेसका नेताहरूले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग निरन्तर संवाद अगाडि बढाएपछि आफूहरू एमसीसीको पक्षमा जान बाध्य भएको एकीकृत समाजवादीका एक नेता बताउँछन्। कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच बालकोटमा भएको छलफल भने निश्कर्षबिना सकिएको थियो।