एमसीसी पारित गर्ने गठबन्धनको निर्णय
सत्तारूढ गठबन्धनको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धनको बैठकले एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको कांग्रेस वरिष्ठ नेता एवं उच्चस्तरीय समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले बताए। बैठकपछि सञ्चारकर्मीसँगै कुराकानी गर्दै पौडेलले भने, “व्याख्यात्मक टिप्पणी सहित एमसीसी सम्झौता पारित गर्ने गठबन्धनले निर्णय गरेको छ।”
राष्ट्रिय जनमोर्चा बाहेक चार दलको बैठक बसेको थियो। बैठकले एमसीसी सम्झौतामा शङ्का उठेका विषयमा व्याख्यात्मक टिप्पणी गर्ने सहमति गरेको हो। “व्याख्यात्मक टिप्पणीलाई पनि एमसीसी सम्झौतासँगै राखेर पारित गर्छौं,” पौडेलले भने।
व्याख्यात्मक टिप्पणीमा के हुन्छ भन्ने प्रश्नको जवाफमा नेता पौडेलले भने, “यो अमेरिकी इन्डो-प्यासिफिक रणनीतिको अङ्ग होइन, यसलाई हामी विकास सहयोगका रूपमा मात्रै बुझ्छौं भनेर व्याख्यात्मक टिप्पणी गर्छौं।”
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।