एमसीसीबारे निर्णय गर्न गठबन्धनको बैठक बोलाइयो
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा निर्णय गर्न बिहीबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलपछि बिहीबार गठबन्धनको बैठक बोलाउने सहमति भएको छ। बिहीबार दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताको बैठक बस्ने सहमति भएको दाहालकी स्वकीय सचिव गंगा दाहालले जनाएकी छन्।
आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले एमसीसी सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो। लगत्तै अध्यक्ष दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए।
प्रधानमन्त्री निवास बालुवाटरमा दुवै नेताबीच भएको भेटमा एमसीसीबारे छलफल गर्न गठबन्धनको बैठक बोलाउने सहमति भएको हो।
माओवादी संसदीय दलले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ भने मंगलबार बसेको कांग्रेस संसदीय दलले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो। सत्तारूढ गठबन्धनमा रहेका नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा पनि यसको विपक्षमा उभिएका छन् भने जनता समाजवादी पार्टी (जसपा) एमसीसी सम्झौताको पक्षमा उभिएको छ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने यस विषयमा कुनै निर्णय गरेको छैन। एमाले संसदीय दलको बैठकले यस विषयमा निर्णय गर्ने अधिकार नेतृत्वलाई दिएको छ।