सभामुख सापकोटालाई कुनै पनि बहानामा एमसीसी रोक्ने अधिकार छैनः कांग्रेस
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटाले कुनै पनि बहानामा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसद्मा टेबल हुनबाट रोक्न नमिल्ने निश्कर्ष निकालेको छ।
सापकोटाले एमसीसी टेबल गर्न नदिएको चर्चा चलिरहेका वेला मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
‘राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकाससँग जोडिएको यो संवेदनशील विषय तथा आम चासो र सरोकारको विषय जनप्रतिनिधि संस्था सार्वभौम संसद्मा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि बहानामा रोक्न, आलटाल र अवरोध गर्न मिल्दैन,’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘यो संवेदनशीलतालाई बुझेर तत्काल यो विषयलाई संसद्को अजेन्डा बनाउनु सभामुखको जिम्मेवारी हो।’
एमसीसी सम्झौतालाई संघीय संसद्मा अनुमोदनका लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको कांग्रेसको ठहर छ। उसले भनेको छ, ‘हाल सरकारको नेतृत्व गर्ने नेपाली कांग्रेस र गठनबन्धनमा रहेका सबै राजनीतिक दलहरू एमसीसी प्रक्रियाको विभिन्न कालखण्डमा प्रत्यक्ष संलग्न भएको र पछिल्लो सरकारले शुरूवात गरेको प्रक्रियालाई अघि बढाउने जिम्मेवारी रहेका कारण एमसीसी सम्झौतालाई संघीय संसद्मा अनुमोदनका लागि सरकारले अविलम्ब प्रस्तुत गर्नुपर्दछ।’
नेकपा एमाले पनि सम्झौताको विषयमा स्पष्ट हुनुपर्ने र तत्कालीन प्रतिबद्धता अनुरूप अनुमोदनका लागि अगाडि तत्पर हुनुपर्ने कांग्रेसको निष्कर्ष छ।
एमसीसी सम्झौताका सन्दर्भमा तथ्यहीन ढङ्गबाट भएका बहसले आम जनतालाई भ्रमित पारेको र विषयलाई अतिरञ्जित बनाउँदै लगेको कांग्रेसले जनाएको छ।
कार्य सम्पादन समितिको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले नेपाली समाज र राजनीतिलाई अनावश्यक भू-राजनीतिक ध्रुवीकरणतर्फ धकेल्न लागेकोमा नेपाली कांग्रेस चिन्ता व्यक्त गर्दै यस संवेदनशील विषयमा ऐतिहासिक तथ्य र प्रक्रियामा टेकेर, बुझेर आफ्नो धारणा बनाउन र बहकाउमा नलाग्न आम जनसमुदाय, सचेत नागरिक समाज र सञ्चारजगत्मा नेपाली कांग्रेस हार्दिक अपील गर्दछ।’